२२ साउन, बझाङ । सलहको केही झुण्ड फेरि बझाङ र पर्वतमा देखिएको छ ।
धेरै दिनपछि हिजो बझाङको केदारस्युँ गाउँपालिका र पर्वतको केही ठाउँमा झुण्ड देखिएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
बझाङको केही ठाउँमा बालीनालीमा सामान्य क्षति गरेको छ । तर झुण्ड तितरबितर भएर सानो सङ्ख्यामा भएकाले धेरै नोक्सानी गर्ने सम्भावना छैन । नेपालमा लगातार जस्तै पानी परेकाले धेरैजसो सलह मरेका थिए ।
पानी परेको बेला निस्क्रिय भएर जङ्गलमा बसेका झुण्ड हिजो र अस्ति घाम लागेकाले फेरि सक्रिय भएको हुन सक्ने केन्द्रको भनाइ छ । यसैबीच सीमावर्ती भारतमा रहेका सलहका झुण्ड भने तत्काल नेपाल आउने सम्भावना छैन।
अहिले तत्काल आउने सम्भावना नदेखिए पनि ढुक्क भएर भने बस्न नहुने भन्दै अझै एक महिनाजति सलह छिर्नसक्ने जोखिम कायमै रहेकाले ख्याल गर्न प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले आग्रह गरेको छ ।