३० साउन, काठमाडौँ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा ३ दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो ।
अर्को निर्णय नभएसम्मका लागि उपत्यकामा खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभारजुलुस गर्न, जात्रा महोत्सव सञ्चालन, दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि, स्वास्थ्य मापदण्डविपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्य सम्बन्धी जमघट लगायतलाई निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले जानकारी दिए ।
साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।
उनका अनुसार सबै प्रकारका सभा÷गोष्ठी, तालिम, सेमिनार, हल/पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङपुल, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।
संयुक्त सुरक्षा बैठकले संग्रहालय, चिडियाखाना, फुटपाथ/खुल्ला ठाउँ र ठेलागाडा तथा साइकलबाट सञ्चालित व्यापाररव्यवसाय, कवाडी संकलन, स्वास्थ्य मापदण्ड विपरित श्रमिक/कामदार ओसारपसार तथा टेकवे बाहेक होटल/रेस्टुरामा पनि जमघट गर्न प्रतिबन्ध लगाएको छ ।
निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न आवश्यकता अनुसार प्रशासनको टोली अनुगमनमा खटिने पनि प्रजिअ दाहालले बताए । तीनवटै प्रशासनले यसअघि साउन २५ गतेदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिसकेको छ ।