३२ साउन, विराटनगर ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार संक्रमित मृतक महिला विराटनगर तीनपैनी बस्ने हुन् ।
प्रतिष्ठानमा ल्याउनु अगाडि उनलाई विराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकले कोरोना संक्रमण भएको शंका गरेर प्रतिष्ठानमा रिफर गरेका थिए । प्रवक्ता सापकोटाका अनुसार मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, थाइरोइड र फोक्सोमा पनि समस्या रहेको देखिएको थियो ।
मृतकको शवको व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको छ ।