११ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराका अनुसार मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको थियो ।
स्थानीय दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा आएका उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो ।
तीन दिनअघि १३ बर्षीया बालिकाको उच्च ज्वरोबाट ज्यान गएको थियो । उनलाई जापानिज इन्सिफ्लाइटिसको आशंकामा अस्पताल पठाइएका उनले जानकारी दिए । त्यसपछि त्यो लक्षण लिएर कोही नआएको उनी बताउँछन् ।
उनीहरु सबैको आन्तरिक ट्राभल हिस्ट्री भएको र कोरोनासँग लक्षण नमिलेको कारण स्वाब परीक्षण नगरिएको उनले जानकारी दिए ।