नितेश यादव
११ भदौ, जनकपुरधाम ।
रौतहटमा कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका एक युवकको उपचारको क्रममा मृत्यु भएपछि मृतक युवकको गाउँलेले रौतहटको गरुडामा प्रदर्शन गरेका छन् । गत साउन ३२ मा निरञ्जन राम हत्याकाण्डको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बिजय रामको मृत्यु भएपछि स्थानीय र आफन्तहरु प्रहरीको दमन तथा निर्घात कुटपिटबाट मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रहरी प्रशासनविरुद्ध चर्काे नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन् ।
गाउँलेले ईलाकाप्रहरी कार्यालय गरुडालाई घेराउगरि प्रदर्शन गरेका हुन् । प्रहरीले मुख्य दोषीलाई जोगाउन यातना दिएका कारण विजयको ज्यान गएको भन्दै ठूलो सख्यामा प्रहरी कार्यालय गेट अगाडि धर्ना दिएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन। हिरासतमा रहेका विजयको ज्यान गएपछि सिङ्गो गाउँ नै प्रहरीविरुद्ध चर्काे नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
विजयलाई साथीको हत्या गरेको अभियोगमा गरुडा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । तर पछि उनको स्वास्थ्यमा समस्या भएपछि उपचारकालागि वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएकोमा बुधबार राति मृत्यु भएको थियो ।