१५ भदौ, काठमाडौँ ।
सरकारले श्रम गन्तव्य मुलुकबाट नेपाली कामदारलाई ल्याउनका लागि अन्तर्राष्ट्रिय उडान थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । कोरोनाबाट रोजगारी गुमाएका नेपालीलाई स्वदेश आउन सहज होस् भनेर त्यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिए ।
बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली कामदारलाई काठमाडौं पु¥याउन चाहने कम्पनीलाई उडानको अनुमति दिने पनि निर्णय गरेको छ । सीसीएमसीले अन्तर्राष्ट्रिय उडानमा कोटा प्रणाली लागू गरेको थियो । त्यसपछि श्रमिक र खाडीलगायत मुलुकका राजदूतहरूले आपत्ति जनाएका थिए । ती मन्त्रीले भने– ’अब अन्तर्राष्ट्रिय उडान संख्या बढ्ने भयो । अनिवार्य पीसीआर परीक्षण हुने मुलुकका लागि अन्तर्राष्ट्रिय उडान बढाइनेछ । जुन कम्पनीले आफूले सबै खर्च (टीकट, पीसीआर, र काठमाडौंको क्वारेन्टाइन खर्च) बेहोर्ने भनेर नेपाली कामदार पठाउने भन्छ उसका हकमा त्यो खुला गरिदिने निर्णय भएको छ ।’
यसरी अन्तर्राष्ट्रिय उडान थपिँदा र नेपाली श्रमिकलाई कम्पनीले नै कामठमाडौं पु¥याउने भएपछि टिकटको मूल्य घट्नेछ । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो। वैदेशिक रोजगारीमा गएर कोरोनाका कारण समस्यामा परेका श्रमिकलाई घर फर्किनका लागि सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या न्यून राखेको भन्दै विरोध भएको थियो ।
ती मन्त्रीका अनुसार बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको छ ।