७ असोज, काठमाडौँ ।
नेपाल विद्युत् प्राधिरकरणले फेरि लोडसेडिङ हुन थाल्यो भन्ने हल्लामा सत्यता नभएको जनाएको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बिदा भएपछि लोडसेडिङ हुन थालेको भनेर उपभोक्ताले गुनासो गर्न थालेपछि प्राधिकरणले बुधबार एक सुचना जारी गरी यस्तो जनाएको हो ।
प्राधिकरणले प्राविधिक समस्या र मौसमको कारण केही ठाउँमा विद्युत् आपूर्तिमा समस्या देखिएको र जति सक्यो छिटो समाधानको लागि पहल भइरहेको जनाएको छ । नियमित रुपमा गर्नु पर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भनेको छ– ‘ विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडी अव लोडसेडिङ हुन थाल्यो भन्ने जस्ता अफवाह पनि सुनिने गरेकोले त्यसमा कुनै सत्यता नभएको, त्यस्तो अवस्था नरहेको व्यहोरा अनुरोध गर्दै प्राधिकरण आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि अनुरोध छ।’

पछिल्ला केही दिनयता ठाउँ–ठाउँमा बिजुली जाने समस्या बढेपछि उपभोक्ताले लोडसेडिङ हुन थालेको भनेर गुनासो गर्न थालेका छन् ।