काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएर गालीगलौजको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन् ।
२३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसलाई पागलहरूको प्रलाप भनेका छन् ।
अध्यक्ष ओलीले भने, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’
ओलीले भने, ‘हिजो पनि पुष्पलालविरुद्ध रायमाझीहरुले त्यसै गरे,पछि कांग्रेसले रायमाझीहरुको साथ पनि लियो । अहिले पनि नेकपाका रायमाझीहरू (प्रचण्ड-माधव) लाई बोकेर कांग्रेस हिँडेको छ ।