×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

२० फाल्गुन २०८२

२० फागुन ,काठमाण्डौ।

मध्यपूर्वमा जारी संघर्षका बीच अवस्था थप गंभीर भएको छ । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेको र त्यसपछि इरानले जवाफी कारबाही स्वरुप इजरायल र मध्यपूर्वका देशहरुसहित अमेरिकी सैन्यबेस र समुन्द्रमा रहेको नौसेनाको समूहमाथि निशाना बनाउन थालेको आज पाँच दिन भइसकेको छ ।

यसबीच व्यापक क्षति भइसकेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानका झण्डै २ हजार ठेगानाहरूमा शक्तिशाली आक्रमण गरेको दाबी गरेको छ । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार यस अभियानमा इरानका १७ वटा पानीजहाज र एउटा पनडुब्बी समेत ध्वस्त पारिएको हो ।

सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देश जारी गर्दै कुपरले यसलाई एक पुस्तायताकै सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालनको रूपमा चित्रण गरेका छन् । हाल यस अपरेसनमा ५० हजारभन्दा बढी सैनिक, २०० लडाकु विमान, दुईवटा विमानवाहक जहाज र बमवर्षक विमानहरू सहभागी छन् भने थप सैन्य शक्ति इरानतर्फ प्रस्थान गरिरहेको छ ।

कुपरले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको तीव्रता सन् २००३ को इराक युद्धको सुरुवाती शक एण्ड अवे बमबारीभन्दा झण्डै दोब्बर रहेको बताएका छन् । यस भीषण हमलाबाट इरानको वायु रक्षा प्रणालीलाई गम्भीर रूपमा क्षति पु¥याउनुका साथै सयौँ ब्यालिस्टिक मिसाइल, लन्चर र ड्रोनहरू नष्ट गरिएको अमेरिकी दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले पहिले आक्रमण गर्ने तयारी गरेको सूचना पाएपछि आफूले इजरायलसँग मिलेर प्रतिकारको आदेश दिएको स्पष्ट पारेका छन्, यद्यपि यो दाबी उनका कूटनीतिज्ञहरूको भनाइभन्दा केही फरक देखिएको छ ।

यता इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडाहरूमा आज पाँचौ दिनसम्म पनि लगातार जवाफी हमला जारी राखेको छ । यसबीच दुबईस्थित अमेरिकी दूतावास र फुजैराह बन्दरगाहमा समेत आक्रमणका खबरहरू आएका छन् ।

पछिल्लो तथ्यांक अनुसार शनिबारयता इरानमा मृत्यु हुनेको संख्या कम्तीमा ७८७ पुगेको छ । यसैबिच इजरायलले इरानको पवित्र सहर कोमस्थित एसेम्बली अफ एक्सपट्र्सको भवनलाई समेत निशाना बनाएको छ ।

यता इरानले विश्वको महत्त्वपूर्ण तेल मार्ग हर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेपछि राष्ट्रपति ट्रम्पले ट्याङ्करहरूलाई सुरक्षा दिन अमेरिकी नौसेना परिचालन गर्न तयार रहेको बताएका छन् । यो युद्धको बाछिटा छिमेकी मुलुकहरूमा पनि देखिन थालेको छ ।

इजरायलले लेबनानको बेरुत र सिडोनमा बमबारी गर्दै दक्षिणी क्षेत्रमा आफ्ना सैनिकहरूलाई थप सक्रिय बनाएको छ । तेल मार्गमा देखिएको अवरोधका कारण इराकले आफ्ना ठुला तेल क्षेत्रहरूबाट उत्पादन घटाएको वा ठप्प पारेको छ ।

यस्तै कतारले इरानी रिभोलुसनरी गाड्र्स (आईआरजीसी) सँग सम्बन्धित दुईवटा स्लिपर सेलका १० संदिग्धहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरु आईआरजीसीका जासुसहरु रहेको बताइएको छ ।
कतारको सरकारी समाचार एजेन्सीका अनुसार बुधबार बिहानै गरिएको एक विशेष अपरेशनका क्रममा दुईवटा छुट्टाछुट्टै समूहमा आबद्ध संदिग्धहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामध्ये सात जनाको समूहलाई कतारका महत्त्वपूर्ण नागरिक तथा सैन्य पूर्वाधारहरूको गोप्य सूचना सङ्कलन गर्ने र जासुसी गर्ने जिम्मा दिइएको समाचार एजेन्सीले जनाएको छ । त्यसैगरी, पक्राउ परेका अन्य तीन जनामाथि ड्रोन प्रयोगको विशेष तालिम लिएको र त्यसैमार्फत जासुसी गतिविधि सञ्चालन गर्न खोजेको अभियोग लगाइएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आफूहरू इरानी रिभोल्युसनरी गार्डसँग आबद्ध रहेको स्वीकार गरेका छन्। उनीहरूले आफूहरूलाई कतारमा जासुसी र विध्वंसात्मक गतिविधिहरू सञ्चालन गर्न खटाइएको समेत बयान दिएको बीबीसीको समाचारमा उल्लेख छ ।

यता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरूले सरकार ढाल्ने समय आएको बताएका छन् । तर इरानले भने क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाएको छ । उसको निसानामा इजरेल, बहराइन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू छन् ।

इरानको समर्थनमा लेबननमा सक्रिय शीआ मुस्लिम समूह पनि यो युद्धमा सामेल भएर लेबननबाट इजरेलतर्फ रकेटहरू प्रहार गरिरहेको छ । जबाफमा इजरेलले पनि लेबननमा रहेका हिज्बुल्लाहका अखडाहरूमा आक्रमण गरेको छ ।

यसबीच इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि मसहदमा गरिने भएको छ । तर यसको मिति र समय निश्चित भइसकेको छैन । इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव इमाम रेजाको मन्दिर नजिकै गाडिनेछ ।

खामेनीको जन्म पनि सन् १९३९ मा मसहदमै भएको थियो । इरानको अर्को सर्वोच्च नेता घोषणा खामेनीको अन्त्येष्टिपछि मात्र गरिनेछ । मंगलबार कोममा विज्ञहरूको सभाले सर्वोच्च नेता चयन गर्न मतदान गरेको खबर बाहिरिएको छ । विज्ञहरूको सभामा ८८ सदस्य हुन्छन्, जसले देशको सर्वोच्च नेता चुन्नेछन् ।

इरानको विपक्षीसँग सम्बद्ध इरान इन्टरनेसनलको दाबीअनुसार आईआरजीसीको दबाबमा विज्ञहरूको सभाले खामेनीका छोरा मोज्तबालाई अर्को सर्वोच्च नेताको रूपमा छनोट गरेको छ । यसैबिच इजरायली सेना (आईडीएफ) ले भने इजरायली हवाई आक्रमणले शनिबारदेखि ३०० भन्दा बढी इरानी ब्यालिस्टिक मिसाइल लन्चर नष्ट गरेको दाबी गरेको छ ।

इजरायलले इरानको राजधानी तेहरानमा अर्को ठूलो आक्रमण गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति कार्यालयसमेत लक्षित भएको इजरायली पक्षको दाबी छ । तेहेरानमा रहेका एक पत्रकारले बीबीसीलाई बताए अनुसार शनिबारदेखि भइरहेको एकपछि अर्को आक्रमणमध्ये पछिल्लोपटक उक्त हमला भएको हो ।

यता संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईस्थित अमेरिकी वाणिज्य दूतावास क्षेत्रमा ड्रोन आक्रमणपछि आगलागी भएको छ । यसअघि, मंगलबार इरानले साउदी अरबस्थित अमेरिकी दूतावासमा आक्रमण गरेको थियो । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाणिज्य दूतावासको भवनसँगै जोडिएको पार्किङ क्षेत्रमा ड्रोन प्रहार भएको पुष्टि गरेका छन् ।

उनले दूतावास र कूटनीतिक सुविधाहरू एक आतंकवादी शासनको प्रत्यक्ष आक्रमणमा परेको बताएका छन् । यो वाणिज्य दूतावास सहरको घना जनसंख्या भएको क्षेत्रमा अवस्थित छ, जुन बेलायती दूतावास र साउदी वाणिज्य दूतावासको नजिकै पर्छ ।

यता इरानको इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्मगुरुहरूको छलफलमा प्रमुख दाबेदारको रूपमा अगाडि आउने सम्भावना छ ।

अहिले इरानको नयाँ सर्वोच्च नेता को हुने भन्ने प्रश्नले नयाँ र गम्भीर मोड लिएको छ । आयतोल्लाहका १५ जना नातिनातिनामध्ये हसन खोमेनी सबैभन्दा बढी चिनिएका अनुहार हुन् । इरानको धार्मिक संस्थापनभित्र उनलाई तुलनात्मक रूपमा उदारवादी मानिन्छ ।

पूर्वराष्ट्रपति मोहम्मद खातमी र हसन रुहानीलगायतका सुधारवादी नेताहरूसँग उनको निकट सम्बन्ध छ, जसले आफ्नो कार्यकालमा अमेरिकासहित पश्चिमा देशहरूसँग कूटनीतिक संलग्नता बढाउने नीति लिएका थिए । ५३ वर्षीय हसनले दक्षिण तेहरानमा रहेको आफ्ना हजुरबुवाको समाधिस्थलको संरक्षकको रूपमा सार्वजनिक जीवनमा प्रतीकात्मक रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

यद्यपि, उनले अहिलेसम्म सरकारमा रहेर काम भने गरेका छैनन् । इरानभित्रका केही राजनीतिज्ञहरूले उनलाई खामेनीको पालामा शक्तिमा आएका कट्टरपन्थीहरू, विशेषगरी खामेनीका छोरा मोजताबाको मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका छन् ।

जनवरीमा इरानमा फैलिएको अशान्तिपछि बढ्दो असन्तोषलाई सम्बोधन गर्न र इस्लामिक गणतन्त्रलाई मजबुत बनाउन एक उदारवादी उत्तराधिकारी ल्याउनुपर्ने आवाज केही इरानी राजनीतिज्ञहरूमाझ बलियो बन्दै गएको छ । यता मध्यपूर्वको यो अशान्ति निकै लम्बिन सक्ने संकेत देखिएको छ ।

शनिवार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण “आवश्यक भए साताभरि नै निरन्तर रहने र नरोकिने“ बताएका थिए। तर त्यसयता भने उनले यसभन्दा लामो समयसम्म पनि जान सक्ने बताएका छन् । आइतवार ट्रम्पले ’न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै अमेरिका र इजरेलले एउटै स्तरमा चारदेखि पाँच सातासम्म आक्रमण जारी राख्ने बताएका थिए ।

सोमवार ह्वाइट हाउसमा बोल्दै उनले भने, “हामीले सुरुबाटै चार सातासम्म जाने भनेका थियौँ, तर हामीसँग त्योभन्दा लामो समयसम्म पनि लैजाने क्षमता छ।“ उनका अनुसार अमेरिका आफ्नो समय आकलनभन्दा “उल्लेख्य अगाडि“ छ । पछि उनले अमेरिकासँग मध्यम र उच्चमध्यम किसिमका असीमित गोलाबारी रहेको बताएका थिए ।

इजरेलका प्रधानमन्त्री नेतन्याहूले शनिवार भनेका थिए, “यो अभियान आवश्यक रहेसम्म निरन्तर रहिरहने छ।“ अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमवार संवाददाताहरूको प्रश्नमा भने, “कति समय लाग्छ भन्ने मलाई पनि थाहा छैन। हाम्रा उद्देश्यहरू छन्। जति लागे पनि हामी गरेरै छोड्छौँ।“

यसैबीच इरानको दक्षिणी सहर मिनाबमा गत शनिबार एउटा विद्यालयमा अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थी र शिक्षकहरूको सामूहिक अन्त्येष्टि गरिएको छ । इरानको सैन्य अखडा र नेतृत्वलाई लक्षित गरी गरिएका शृङ्खलाबद्ध प्रहारका क्रममा उक्त विद्यालयमा पनि क्षति पुगेको बताइएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा १६० भन्दा बढीको ज्यान गएको छ । मिनाबमा रहेको उक्त विद्यालय इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स ९आईआरजीसी० को सैन्य शिविरबाट करिब ६०० मिटरको दूरीमा अवस्थित थियो ।

शनिबार इरानमा कार्यदिन हुने भएकाले विद्यालयमा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको समयमा तीनवटा क्षेप्यास्त्रले भवनलाई ध्वस्त पारेको दाबी गरिएको छ। सरकारी टेलिभिजनमा प्रसारित दृश्यहरूमा हजारौँ शोकाकुल मानिसहरू सडकमा उत्रिएर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिरहेको देखिन्थ्यो ।

इरानको राष्ट्रिय झण्डा ओढाइएका साना बाकसहरूलाई भीडको बिचबाट लैजाँदै गर्दा त्यहाँको वातावरण अत्यन्तै मार्मिक बनेको थियो । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यस घटनालाई बर्बरतापूर्ण भन्दै आक्रमणकारीहरूको अभिलेखमा अर्को एउटा कालो पाना थपिएको टिप्पणी गरेका छन् ।

यता इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सामूहिक चिहान खनिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्धारको नाममा गरेको वास्तविकता यही भएको भन्दै कडा आलोचना गरेका छन् । अ

न्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इरान भ्रमणमा भिसाको कठिनाइ हुने भएकाले मृत्युको यकिन सङ्ख्या स्वतन्त्र रूपमा पुष्टि हुन नसके पनि बीबीसीले घटनास्थलका केही भिडियो फुटेजहरू प्रमाणित गरेको छ, जसमा विस्फोटपछि धुवाँको मुस्लो र मानिसहरूको चित्कार सुनिन्छ ।

यस संवेदनशील घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले कहिल्यै पनि जानाजानी विद्यालयलाई निशाना नबनाउने स्पष्ट पारेका छन्। उनले नागरिक पूर्वाधारमा आक्रमण गर्नु अमेरिकाको कुनै रुचि वा स्वार्थको विषय नभएको दाबी गरे ।

अमेरिकी केन्द्रीय कमाण्ड ९सेन्टकम० ले भने यो घटनालाई गम्भीरतापूर्वक लिएको र यसबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । इजरायली सेनाले भने उक्त क्षेत्रमा आफ्नो कुनै पनि सैन्य अपरेसनबारे जानकारी नभएको बताएको छ ।

मध्यपूर्वमा देखिएको यो अस्थिरताले विश्वभरिकै अर्थतन्त्रमा असर गरिरहेको छ । खास गरी खाडी क्षेत्रको संवेदनशील ऊर्जा उद्योग यसको मारमा पर्दा त्यसको असर अन्य देशहरूसम्म परेको छ । इरानी आक्रमणका कारण कतारले एलपीजी ग्यासको उत्पादन रोकिएको बताएको छ ।

त्यसकारण सोमवार ग्यासको मूल्य ५० प्रतिशतले बढेको छ । ग्याससँगै तेलको मूल्य पनि बढेको छ । इरानी ड्रोनले साउदी अरबको अर्को प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको छ । त्यसपछि यो केन्द्र पनि आंशिक रूपमा बन्द भएको छ । इरानले स्ट्रेट अफ हर्मुज भनिने खाडी क्षेत्र र हिन्द महासागरबीचको साँघुरो सामुद्रिक नाकामा पानीजहाज नचलाउन चेतावनी दिएको छ।

इरानी सामुद्रिक सीमाको यो नाकाबाट विश्वको २० प्रतिशत तेल र ग्यास ओसारप्रसार हुन्छ । पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ ।

कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर पर्ने देखिएको छ । खाडी मुलुकमार्फत हुने हवाई सेवा प्रभावित भएको छ ।

हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ । जसले त्यहाँको वातावरण त्रसित छ ।

नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत खाडी क्षेत्रबाट आउने गरेको छ । यस्तै खाडी क्षेत्रबाट नेपालमा थोरै भए पनि पर्यटक आउने गरेका छन् । अब यी सबैमा असर पर्ने छ । पश्चिम एसिया क्षेत्रमा तनाव कायम रहिरह्यो भने नेपालको विदेशी मुद्रा आर्जनमा प्रभाव पर्नेछ ।

ती मुलुकबाट नेपाली उपभोक्ताका लागि अवश्यक ठानिएका सुन, चाँदी र तिनका गरगहना, तामाको तार, प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ आयातसमेत प्रभावित हुनेछ । खासगरी इन्धन आयातमा गिरावट आउने र मूल्यवृद्धिसमेत हुने भएकाले नेपालको समग्र अर्थव्यवस्थामा असर पुग्ने विज्ञहरूको अनुमान छ ।

खाडी क्षेत्रका मुख्य पेट्रोलियम खानीमा आक्रमण भएपछि आइतबारदेखि नै विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने त्यहाँको रोजगारी पनि प्रभावित भएको छ । पछिल्ला वर्षमा नेपालले सामान्य मात्र आर्थिक वृद्धि गरेको र आयातमै बढी निर्भर भएको अवस्था छ ।

खाडी क्षेत्रमा तनाव लम्बिए वस्तु आयातमा समस्या हुने र आयात महँगो हुने भएकाले मुलुकमा मुद्रास्फीति बढ्ने विज्ञहरू बताउँछन् । खाडी मुलुकको अर्थव्यवस्था खलबलिएपछि थप नेपाली वैदेशिक रोजगारीमा जाने वातावरण नहुने देखिन्छ । यसले नेपालको रोजगारी प्रभावित हुनेछ ।

यसबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले तेलको मूल्य प्रतिब्यारेल एक सय डलरसम्म पुग्ने भन्दै समाचार लेखेको छ । सोमबार कच्चा तेलको मूल्य १० प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८२ डलरसम्म पुगेको थियो, जुन सन् २०२५ यताकै उच्च हो । मंगलबार प्रतिब्यारेल ८२ डलर हाराहारीमै कारोबार भइरहेको छ ।

तेलको मूल्य बढेर प्रतिब्यारेल सय डलर पुग्ने अनुमान गरिएकाले नेपालमा इन्धनको मूल्यका कारण यातायात लागत र उत्पादन लागतमा प्रभाव पर्ने छ । आगामी दिनमा आयात मूल्य, यातायात लागत, उत्पादन लागतदेखि मुद्रास्फीतिसमेत बढ्ने छ । नेपाल खाडी मुलुकमा श्रमिक पठाउने देश मात्र नभई कच्चा पदार्थ (प्लास्टिक÷धातु, कृषि ,मल र निर्माण सामग्री ), (जिप्सम) का लागिसमेत ती देशमा निर्भर छ ।

अहिले देखिएको तनावले नेपालको औद्योगिक उत्पादन र खाद्य सुरक्षाका लागि प्रत्यक्ष चुनौती रहेको जानकारहरू बताउँछन् । कतारबाट रासायनिक मल आपूर्तिमा अवरोध आए खेतीको मुख्य सिजनमा मल अभाव भई नेपालको खाद्य सुरक्षामा चुनौती थपिने छ ।

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

613248752_1425797008908850_5568941647292176557_n

सम्बन्धित खबरहरु

Scroll to Top