२ चैत , काठमाण्डौ।
मध्यपूर्वमा युद्ध लम्बिदै र थप खराब हुँदै जाँदा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको चिन्ता पनि बढेको छ । यसैबीच कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्ती जारी गरी मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन भनेको हो ।
’मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ । भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिनुहुन अनुरोध छ,’ दूतावासले भनेको छ ।
उता यूएईको दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ । घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ ।
उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । सारजहाँ ट्वान्टी फोर अनलाइनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेको जनाएको छ । त्यसपछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।
फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए । तर युद्ध सुरु भएपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् ।
त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् । यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् ।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ । यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र ती सबैले इरानको आलोचना गरेका छन् ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुनः सञ्चालन लागि सहयोग नगरे नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुने बताएका छन् । ‘फाइनाइन्सियल टाइम्स’ सँगको अन्तरवार्तामा उनले होर्मुज स्ट्रेट सञ्चालनमा ल्याउन सहयोगको अपेक्षा राख्दै युरोपेली मुलुकका तर्फबाट कुनै प्रतिक्रिया नआए नेटोको भविष्यका लागि अत्यन्तै नराम्रो हुन सक्ने चेतावनी दिएका हुन् ।
एक दिनअघि मात्रै ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र ब्रिटेनसँग होर्मुज स्ट्रेट खुलाउनका लागि भइरहेको संयुक्त प्रयासमा सहभागी हुन अपील गरेका थिए । ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिंगपिंगङसँग बेइजिङमा हुने भनिएको आगामी बैठक अगाडि नै चीनले होर्मुज स्ट्रेट खोल्न सहयोग गर्ने पनि विश्वास व्यक्त गरे ।
‘चीनलाई ९० प्रतिशत तेल यही स्ट्रेटबाट उपलब्ध हुन्छ,’ उनले भने । ट्रम्प र सिबीच मार्च अन्तिमतिर बेइजिङमा बैठक तय भएको छ । तर, ट्रम्पले त्यसअघि नै चीनले होर्मुज स्ट्रेट खुलाउन कÞदम उठाउनु पर्ने उनको भनाइ थियो । ट्रम्पले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने पनि संकेत गरेका छन् ।
यद्यपि, उनले यसबारे स्पष्ट जानकारी नदिएको बीबीसीले जनाएको छ । ट्रम्पले विश्व शक्तिहरूलाई खाडीको ‘स्ट्रेट अफ हर्मुज’ बाट तेल ट्याङ्करहरू पार गराउन र विश्व बजारमा इन्धन आपूर्ति नियमित गर्न सघाउन गरेको आग्रहपछि इरानले भने आइतबार थप देशहरूलाई अमेरिका र इजरायलसँगको युद्धमा संलग्न नहुन आइतबार चेतावनी दिएको छ ।
इरानले अमेरिका–इजरायल अभियानको प्रतिक्रिया दिँदै खाडीको प्रमुख तेल र ग्यास निर्यातकर्ताहरूलाई विश्व बजारसँग जोड्ने जलमार्ग हुँदै इन्धन ढुवानी गर्ने जहाजलाई आवतजावतमा रोक लगाएपछि विश्वभरि ऊर्जाको मूल्य बढेको छ । उद्यपि इरानले होर्मुजबाट अमेरिका र इजरेलका जहाजबाहेक अन्य इन्धन जहाजमा अवरोध नरहेको बताउँदै आएको छ ।
यता अमेरिकी सेनाले ‘स्ट्रेट अफ हर्मुज’को उत्तरी तटमा रहेको इरानी इलाकामा ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण स्थलहरूमा आक्रमण जारी राखेको छ । यसैबिच, इरानका विदेशमन्त्री अराघचीले फ्रान्सेली समकक्षी जाँ–नोएल ब्यारोँसँग फोनमा उनीहरूलाई ‘द्वन्द्व बढाउन र विस्तार गर्न सक्ने कुनै पनि कार्यबाट टाढा रहन’ चेतावनी दिएका हुन् ।
बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिबद्धता जनाएको छैन । “हामीले पहिले नै भनेका छौँ, हामी हाल हाम्रा सहयोगी र साझेदारहरूसँग यस क्षेत्रमा ढुवानीको सुरक्षा सुनिश्चित गर्न विभिन्न विकल्पहरूमा छलफल गरिरहेका छौँ,” उसले भनेको छ ।
बेलायतका ऊर्जा सुरक्षा मन्त्री एड मिलिब्यान्डले बीबीसीसँग भनेका छन्, “अब द्वन्द्व कम गर्ने योजना हुनुपर्छ । हामी हाम्रा सहयोगीहरूसँग कुरा गरिरहेका छौँ । त्यहाँ समुद्री ढुवानी सम्भव बनाउने विभिन्न उपायहरू छन् ।” दक्षिण कोरियाले सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पको टिप्पणीलाई नजिकबाट नियालिरहेको बताएको छ भने जापानी प्रधानमन्त्री साने ताकाइचीको सत्तारुढ पार्टीका नीति प्रमुख ताकायुकी कोबायाशीले विद्यमान कानुनअनुसार उक्त क्षेत्रमा जापानी जलसेनाका जहाज पठाउने प्रतिबन्ध ‘अत्यन्त उच्च’ भएको बताएका छिन्।
इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेपछि र खाडी छिमेकीहरूमा ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापीरूपमा ४० प्रतिशतले बढेको छ। इरानी सर्वोच्च नेताको हत्या गरेको अमेरिका र इजरायलको हवाई अभियानको बदलामा यो आक्रमण गरिएको थियो र क्षेत्रीय मध्यपूर्व युद्ध सुरु भएको थियो ।
विश्व बजारमा उतारचढावको क्रममा ट्रम्पले एनबीसी न्यूजलाई सप्ताहन्तमा दिएको अन्तर्वार्तामा तेहरान टेबलमा आउन इच्छुक रहेको तर अमेरिकाले अझ राम्रो सर्तहरू लागू गर्न लड्ने बताएका थिए । उनले इरानको तेल केन्द्र खार्ग टापुमा फेरि पनि ‘रमाइलोका लागि’ बम प्रहार गर्न सक्ने बताए । ट्रम्पले एनबीसी न्यूजसँग भने, “इरान सम्झौता गर्न चाहन्छ, र म यो गर्न चाहन्न किनकि सर्तहरू अझै पर्याप्त छैनन्।”
इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनीले एक लिखित वक्तव्यमा हर्मुजलाई बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी आक्रमणमा नयाँ सर्वोच्च नेता पनि मारिएको हल्ला आएपछि इरानले उक्त खबरको खण्डन गरेको थियो । राष्ट्रपति ट्रम्पले यसलाई अस्वीकार गरेका छन् र सुझाव दिएका छन्, “उहाँ जीवित हुनुहुन्छ कि हुनुहुन्न मलाई थाहा छैन । अहिलेसम्म कसैले पनि उहाँलाई देखाउन सकेका छैनन् ।” इरानले शनिबार भनेको छ, “नयाँ सर्वोच्च नेतालाई कुनै समस्या भएको छैन ।”
यद्यपि उनी अझै सार्वजनिक रूपमा देखा परेका छैनन् । यसैबिच, इजरायली सेनाले पश्चिमी इरानका विभिन्न स्थानमा लक्षित आक्रमणको श्रङ्खला घोषणा गरेपछि इरानको रिभोलुसनरी गाड्र्सले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अपराधी घोषणा गर्दै उनीहरूले नेतन्याहूलाई पछ्याउने र हत्या गर्ने चेतावनी दिएका छन् ।
यता इजरायलसँग मिलेर इरानमाथि आक्रमण सुरु गरेको १५ दिन नपुग्दै अमेरिकाले १२ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ। ह्वाइट हाउसका मुख्य आर्थिक सल्लाहकार केभिन ह्यासेटले फेब्रुअरी २८ देखि सुरु भएको यो सैन्य कारबाहीमा अहिलेसम्म सो परिमाणको रकम खर्च भएको पुष्टि गरेका हुन् ।
मध्यपूर्वमा चर्किएको यो द्वन्द्वले अमेरिकी अर्थतन्त्रमा पार्न सक्ने असरलाई लिएर चौतर्फी चिन्ता व्यक्त भइरहेका बेला सरकारको तर्फबाट यो आधिकारिक तथ्यांक बाहिर आएको हो। सल्लाहकार ह्यासेटले ठुलो रकम खर्च भए पनि यसले अमेरिकी अर्थतन्त्रलाई खासै असर नगर्ने दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर उपभोक्ताहरू त्रसित भइरहँदा उनले भने बजारले छिट्टै यो समस्याको समाधान खोज्ने र तेलको मूल्य घट्ने जिकिर गरे। विश्वको २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा इरानले अवरोध गर्ने धम्की दिएका कारण बजार अस्थिर बनेको छ। यद्यपि, सन् १९७० को दशकको तुलनामा अहिले अमेरिका आफैँ ठुलो तेल उत्पादक रहेकाले इरानी गतिविधिले अमेरिकी अर्थतन्त्रलाई धराशायी बनाउन नसक्ने ह्यासेटको तर्क छ ।
युद्धको खर्च बढिरहँदा रक्षामन्त्री पिट हेगसेथले इरानमाथिको बमबारी अझै तीव्र पारिने चेतावनी दिएका छन्, जसले आगामी दिनमा सैन्य खर्च झन् बढ्ने संकेत गरेको छ। तर, ट्रम्प प्रशासनले यो युद्धको वास्तविक उद्देश्य पटक–पटक परिवर्तन गरिरहेकाले राजनीतिक वृत्तमा अन्योल छाएको छ ।
सुरुमा इरानको आणविक कार्यक्रम नष्ट गर्ने भनिए पनि पछि क्षेप्यास्त्र क्षमता घटाउने र अहिले होर्मुजको सुरक्षाका लागि तेल पूर्वाधारमा आक्रमण गर्ने लक्ष्य राखिएको छ। यसै विषयलाई लिएर विपक्षी नेता चक शुमरले सरकारले युद्धको ठोस कारण दिन नसकेको र हरेक दिन फरक जवाफ दिइरहेको भन्दै आलोचना गरेका छन् ।
फेब्रुअरी २८ देखि जारी यो भीषण युद्धमा अहिलेसम्म इरानमा कम्तीमा १ हजार ४ सय ४४ जनाको मृत्यु भइसकेको छ। युद्धका क्रममा १३ अमेरिकी सैनिकले ज्यान गुमाएका छन् भने १४० भन्दा बढी घाइते भएका छन् ।
यो लडाइँ लेबनान र खाडी मुलुकसम्म फैलिँदै गएपछि भारत जस्ता देशहरूले आफ्ना ट्याङ्करहरूको सुरक्षाका लागि वासिङ्टनलाई छोडेर सिधै तेहरानसँग वार्ता गर्न थालेका छन् । अमेरिकाभित्रै पनि सिनेटर क्रिस भान होलेनले सरकारले नतिजाको प्रवाह नगरी पान्डोरा बक्स खोलेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
