×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

२३ चैत्र २०८२

२३ चैत , काठमाण्डौ।

पार्टीको विशेष महाधिवेशन मार्फत युवा पुस्तामा नेतृत्व ल्याएर फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा होमिएर नराम्रो सँग हार बेहोरेको नेपाली काँग्रेस भित्रको विवादले चरम रूप लिई रहेको बेला नेकपा एमालेलेमा समेत विशेष महाधिवेशनको माग उठ्न थालेको छ ।

Advertisement
Advertisement

काँग्रेसमा तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा भदौ २४ गते जेनजी आन्दोलनकारीको आक्रमणमा परि मरणासन्न हुने गरी कुटाइ खाएका थिए । त्यसैको उपचार गर्नका लागि सिंगापुर जानु अघि देउवाले पार्टीका उपाध्यक्ष पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका थिए ।

जेनजी विद्रोह लगतै पार्टीमा विशेष महाधिवेशनको माग भई निवेदन दर्ता भएको र खड्काले बोलाएको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय लिन नसकेका कारण काँग्रेसको विवाद विशेष महाधिवेशन सम्म पुगेको थियो । निर्वाचन आयोगले काँग्रेसको आधिकारिकता विशेष महाधिवेशन पक्षधरलाई दिए पनि अदालतको मुद्दा भने थाँती छ ।

यति बेला काँग्रेसमा विवाद चरम उत्कृर्षमा पुगेको छ । उता फागुन २१ गतेको निर्वाचनबाट प्रचण्ड बहुमत ल्याएको रास्वपाको बालेन सरकारले जेनजी विद्रोह दबाउन बल प्रयोग गरेको आरोपमा पार्टी अध्यक्षलाई पक्राउ गरेकै बेला एमालेमा पनि विशेष महाधिवेशनको माग उठ्न थालेको छ ।

निर्वाचनको मुखमा विशेष महाधिवेशन गरेर चुनावमा होमिएको नेपाली काँग्रेसमा यति बेला भाँडभैलो मच्चिनुको कारण निर्वाचनमा व्यहोनु परेको लज्जास्पद हार नै हो । विशेष महाधिवेशनपछि युवा नेतृत्व लिएर चुनावमा गएका नेपाली काँग्रेसले अपेक्षाकृत रूपमा परिणाम ल्याउन नसकेपछि पार्टी भित्रको विवादले चरम रूप लिन पुग्यो ।

निर्वाचन आयोगले गगन कुमार थापाको नेतृत्वलाई मान्यता लिएपछि कार्यवाहक पूर्ण बहादुर खड्का नेतृत्वमा देउवा समूह निर्वाचनको अवधिभर चुप लागेर बस्यो । धेरै देउवा समूहका नेताहरूले गगन थापाले पार्टी सभापति भएर हस्ताक्षर गरेको टिकटमा निर्वाचन लडे पनि तर जब निर्वाचनको परिणाम कमजोर आयो अनि देउवा समूह सक्रिय बन्न थाल्यो ।

कार्यवाहक सभापतिको हैसियतले जब पूर्णबहादुर खड्काले एक विज्ञप्ति निकाले तब काँग्रेसको विवाद बाहिर आयो । उता चुनावकै मुखमा पार्टीको महाधिवेशन गरेर तेस्रो पटक पार्टीको अध्यक्ष बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालेन सरकारले भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा निहत्था नागरिकमाथि गोली चलाएको आरोपमा नयाँ बनेको बालेन सरकारले पक्राउ ग¥यो ।

तब एमाले भित्र पनि विशेष महाधिवेशनको चर्चा सुरु भएको छ । यति बेला एमाले भित्रको युवा पङ्क्ति पुरानो नेतृत्व विरुद्ध मैदानमा उत्रिएको छ । चैत एमाले केन्द्रीय सचिवालय बैठकमा पुगेर दुई दिन अघि मात्र केही युवाहरूले फूलको गुच्चा दिएर पदाधिकारीहरूको स्वागत गरे ।

युवाहरूले नेताहरूलाई त्यसरी स्वागत गर्नुको सङ्केत थियो, ‘अब तपाईँहरू पार्टीको सक्रिय भूमिकाबाट बिदा हुनुस् र युवाहरूलाई नेतृत्व पुस्तान्तरण गर्नुस् ।’ बैठकमा सहभागी हुन पुगेका सबै नेताहरूलाई फूल दिँदै युवा विद्यार्थी नेताहरूले समयको मागअनुसार नेतृत्व परिवर्तन गर्नका लागि तत्काल बहस र छलफल सुरु गर्न दबाब स्वरूप आग्रहसमेत गरेका थिए ।

फूल समात्दै युवा–विद्यार्थीको आग्रहप्रति अधिकांश एमाले नेताहरूले युवाहरूको भावना सम्बोधनार्थ प्रयत्न गर्ने आश्वासन पनि दिए । तर, पार्टी अध्यक्षविनाको उक्त बैठकले युवाहरूको माग सम्बोधन गर्ने गरी कुनै निर्णय गर्न सक्ने अवस्था भने थिएन । यसै पनि अध्यक्षलाई प्रतिशोधपूर्ण ढङ्गले गिरफ्तारी गरिएको बताउँदै आएको एमालेले पक्राउविरुद्ध आन्दोलनका कार्यक्रमसहित आन्दोलित नै छ ।

अर्कातिर पार्टी रूपान्तरण र नेतृत्व परिवर्तनको चर्चा भइरहेका बेला एमालेले संसदीय दलको नेतामा पुरानै पुस्ताका नेता उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चयन गरेपछि एमालेभित्र परिवर्तनको पक्षमा रहेका नेता–कार्यकर्ताहरू आक्रोशित बनेका छन् । अर्का तर्फ संसदीय दलका नेता रामबहादुर थापाले संसद्को पहिलो बैठकमा दिएको अभिव्यक्तिले युवाहरूमा नेतृत्वप्रतिको असन्तुष्टि थप बढ्न पुगेको छ ।

चुनावमा रास्वपाको जादुमयी नतिजा आउनुमा संलग्न व्यक्ति तथा संस्थाहरूको भूमिकाबारे थापाले दिएको अभिव्यक्ति पार्टीको संस्थागत नभएको भन्दै एमालेको बैठकले सच्याएको छ । यति बेला एमालेमा समय र युवाको मागअनुसार पार्टी अघि बढ्न नसकेको, पुराना नेताहरूप्रति जनताको भरोसा टुट्दै गएको तथा पार्टीको रूपान्तरण अनिवार्य भएको भन्दै खुल्ला रूपमा बहस र छलफल हुन थालेको छ ।

एमालेभित्र नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठी रहेका छन् । जब कि एमालेका युवा विद्यार्थी नेताहरूले पार्टी रूपान्तरणका लागि विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर अभियान नै सुरु गरिसकेका छन् । एमाले निकट अनेरास्ववियुका उपमहासचिव कमल जोशीले समयको मागअनुसार पार्टी र नेतृत्वको रूपान्तरण जरुरी रहेकाले विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरु गरेको बताएका छन् ।

भदौको जेनजी आन्दोलनपछि गत मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गरेको एमालेले तेस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओलीलाई अनुमोदन गरेको थियो । हस्ताक्षर अभियानमा संलग्नहरूले झन्डै पाँच सय जनाले हस्ताक्षर गरिसकेको दाबी गरेका छन् ।

उनीहरूका अनुसार विशेष महाधिवेशनको माग पत्रमा एमालेको संसदीय यात्रामा पार्टीले सबैभन्दा लज्जास्पद हार पछिल्लो निर्वाचनमा व्यहोरेको उल्लेख छ । प्रत्यक्षतर्फ १६५ मध्ये ( सिटमा खुम्चिनु र समानुपातिकमा पनि कमजोर नतिजा आउनुले पार्टीको कमिटी प्रणाली र वर्तमान नेतृत्वप्रति जनताको अविश्वास देखिएको नेताहरूको ठहर छ ।

एमालेका एक केन्द्रीय सदस्यका अनुसार देशभरका युवाहरू लामो समय पार्टीमा रहेर दुःख–मेहनत गरे पनि पार्टी कमिटीको साङ्गठनिक ढाँचाका कारण उचित जिम्मेवारी पाउन नसक्दा वितृष्णा पैदा भएको छ । एमालेमा विशेष महाधिवेशनको वकालत गरिरहेका युवाहरूले पार्टी महासचिव शङ्कर पोखरेललाई समेत जानकारी गराइसकेको बताएका छन् ।

‘हामीले चुनावी समीक्षा केन्द्रीय कमिटीमा मात्र गरेर सम्भव छैन, त्यसैले विशेष महाधिवेशन गर्नुपर्छ भनेका छौँ’, ती नेताले भने, ‘यसमा महासचिव पनि सकारात्मक हुनुहुन्छ ।’ विशेष महाधिवेशनको माहौल बनाउन एमाले निकट अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडाल, सुजन कडरिया, युवा सांसद सुहाङ नेम्वाङ, नेताहरू नरेश रोकाया, डा. प्रकाश पौडेललगायतले अग्रसरता देखाएका छन् ।

एमाले पार्टी विधानअनुसार ठोस कार्यसूची र उचित कारण देखाएर बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखित रूपमा माग गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने उल्लेख छ । विधानको धारा ६९ मा विशेष महाधिवेशन र अधिवेशनसम्बन्धी व्यवस्था रहेको छ ।

Advertisement
Advertisement

विधानअनुसार बहुमत प्रतिनिधि परिषद् सदस्यको मागअनुसार केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना नगरे महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएर विशेष महाधिवेशन गर्न सक्ने वैधानिक व्यवस्था छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top