२२ वैशाख , काठमाण्डौ ।
फिल्मको पर्दामा धेरै पटक हेरिएको दृश्य हो ’एकजना हिरो आउँछ र सारा सिस्टम बदलिदिन्छ ।’ तर के तपाईंले कहिल्यै सोच्नुभएको थियो, यो कुरा वास्तविक जीवनमा पनि हुनसक्छ ? एक्जिट पोलहरूले भनेका थिए— ’यो पार्टीले केही भोट मात्र काट्नेछ ।’ ठूला मिडियाले भनेका थिए— ’विजय राजनीतिमा कच्चा खेलाडी हुन् ।
तर जब नतिजा आयो, तमिलनाडुको इतिहासमै पहिलोपटक एउटा यस्तो राजनीतिक भूकम्प गयो, जसको धक्काले मुख्यमन्त्रीदेखि पूर्वविधायकसम्म सबै बढारिए । ३५ वटा राजनीतिक दल, ६० वर्षको विरासत र दुई शक्तिशाली क्षेत्रीय शक्तिहरू । यी सबैलाई एकातिर राखेर एउटा यस्तो नयाँ शक्ति जन्मियो, जसले पहिलो गाँसमै ढुङ्गा होइन, सिधै सत्ताको चाबी हातमा लिने भएको छ ।
नेपालमा ’रास्वपा’ वा नयाँ शक्तिको उदय जस्तै, तमिलनाडुको राजनीतिमा अभिनेता विजयको ’टीभीकेले ब्लकबस्टर इन्ट्री गरेको छ । दक्षिण भारतीय सिनेमाको पर्दामा जसलाई दर्शकले थलापति अर्थात् सेनापति भनेर पुज्थे, आज उनी वास्तविक जीवनमै तामिल राजनीतिका महानायक बनेर उदाएका छन् ।
झन्डै ६० वर्षदेखि तमिलनाडुको राजनीतिमा जरा गाडेर बसेका दुई दल— डीएमके र एआईएडीएमकेलाई एउटै झट्कामा पछार्दै अभिनेता जोसेफ विजयले इतिहास रचेका छन् । के यो केवल फिल्मी फ्यानहरूको उन्माद हो या तमिलनाडुले खोजिरहेको वास्तविक विकल्प ? कसरी एउटा अभिनेताले राजनीतिमा पाइला टेकेको दुई वर्षमै ३५ वटा दललाई क्लिन स्वीप गरिदिए ?
आज हामी अभिनेता विजयको उदय, उनको पार्टी टीभीकेको सफलताको गोप्य सूत्र र यसले भारतीय राजनीतिमा पार्ने दीर्घकालीन प्रभावको विश्लेषण गर्नेछौँ । दक्षिण भारत, विशेषगरी तमिलनाडुको राजनीति र सिनेमाको सम्बन्ध निकै पुरानो र गहिरो छ । यहाँका जनताले अभिनेतालाई केवल पर्दाको पात्र मान्दैनन्, उनीहरूलाई भगवान्कै दर्जा दिन्छन् ।
एमजीआर, एम. करुणानिधि र जयललिताजस्ता हस्तीहरू यही सिनेमाको पर्दाबाट निस्किएर तमिलनाडुको सत्ताको बागडोर सम्हाल्न सफल भएका थिए । तर पछिल्लो केही दशकदेखि यो विरासतमा बिराम लागेको थियो । रजनीकान्त र कमल हसनजस्ता सुपरस्टारहरूले राजनीतिमा हात हाले पनि विजयले जस्तो ’धमाकेदार इन्ट्री’ र सफलता कसैले पाउन सकेका थिएनन् ।
अहिले विजयको विजयसँगै तमिलनाडुले छैठौँपटक फिल्म क्षेत्रबाट आएको व्यक्तिलाई मुख्यमन्त्रीको रूपमा पाउने पक्का भएको छ । अभिनेता विजयको पार्टी ’तमिलगा भेट्री कड्गमको यो जित सामान्य जित मात्र होइन, यो एक राजनीतिक ब्लकबस्टर हो । कुनै पनि एक्जिट पोलले यो स्तरको सफलताको प्रक्षेपण गरेका थिएनन् ।
सबैले विजयको पार्टीलाई भोट काट्ने दलका रूपमा मात्र हेरेका थिए । तर नतिजा आउँदा सबै अचम्मित भए । टीभीकेले तमिलनाडुका हरेक इलाकामा आफ्नो प्रभाव जमाएको छ । विशेषगरी उत्तरी र तटीय इलाकामा विजयको पार्टीले वर्चस्व कायम गर्दा दक्षिणमा डीएमके र उत्तर–मध्यमा एआईएडीएमके खुम्चिन पुगेका छन् ।
मुख्यमन्त्री एम.के. स्टालिन आफ्नै पूर्वविधायक भीएस बाबुसँग पराजित हुनु यो निर्वाचनको सबैभन्दा ठूलो उलटफेर मानिएको छ । यो निर्वाचनको झल्को नेपालको गत फागुनको निर्वाचनसँग पनि मिल्दोजुल्दो छ, जहाँ स्थापित पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ र वैकल्पिक शक्तिका रुपमा रास्वपकाको उदय भएको छ ।
विजयले प्रमाणित गरिदिए कि, यदि सही एजेन्डा र इमानदार छवि छ भने फिल्मी फ्यानहरूलाई सजिलै ’लोयल’ मतदातामा रूपान्तरण गर्न सकिन्छ । तमिलनाडुमा ६० वर्षदेखि एउटै प्रश्नको वरिपरि राजनीति घुमिरहेको थियो— ’तमिल पहिचानको असली संरक्षक को ?’ डीएमके र एआईएडीएमकेले सधैँ तमिल गौरव, संस्कृति र हिन्दी विरोधी मुद्दालाई आफ्नो चुनावी हतियार बनाए ।
तर यही ’पहिचानको लडाइँ’ भित्र जनताका आधारभूत समस्याहरू दबिएका थिए । अत्यधिक गर्मी, बारम्बार हुने विद्युत् कटौती, कमजोर पूर्वाधार र व्याप्त भ्रष्टाचारले जनता आजित थिए । विजयले ठ्याक्कै यहीँ प्रहार गरे । उनले पहिचानको राजनीतिलाई मात्र बोकेनन्, जनताका व्यावहारिक समस्या र दैनिक जीवनसँग जोडिएका मुद्दाहरूलाई अगाडि सारे ।
उनले द्रभिड राष्ट्रवाद र तमिल राष्ट्रवादलाई ’दुई आँखा’ भन्दै दुवैलाई समेट्ने मध्यम मार्ग अपनाए । जसका कारण वर्षौँदेखि विकल्प खोजिरहेका तमिल जनताले विजयमा एउटा भरपर्दो भरोसा भेटे । २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका जोसेफ विजय चन्द्रशेखरको रगतमै सिनेमा थियो । बुबा एस.ए. चन्द्रशेखर चर्चित निर्देशक र आमा शोभा गायिका हुन् ।
बुबाकै फिल्म भेट्रीबाट बालकलाकारका रूपमा सुरु भएको उनको यात्रा सन् १९९२ को नालैया थीरपुबाट नायकका रूपमा अगाडि बढ्यो । सुरुवाती दिनहरूमा विजयले धेरै असफलता भोगे । तर उनले हार मानेनन् । एक्सन, रोमान्टिक हुँदै सामाजिक सन्देश दिने फिल्महरूमा काम गरेपछि उनी साधारण नायकबाट थलापति अर्थात् सेनापति बने ।
आज दक्षिण भारतमा उनको लोकप्रियता कुनै धर्मभन्दा कम छैन । तर उनको यो यात्रा सधैँ सहज रहेन । राजनीतिमा आउनुअघि उनले आफ्नै परिवारभित्रै ठूलो विद्रोह गर्नुपर्यो । उनका बुबाले उनको नाममा राजनीतिक दल खोल्न खोज्दा विजयले आफ्नै बाबुआमासहित ११ जनाविरुद्ध मुद्दा हालेका थिए ।
यसले उनी राजनीतिमा कति स्पष्ट र दृढ छन् भन्ने देखायो । उनले आफ्नो राजनीतिक करियरका लागि आफ्नो उचाइमा रहेको फिल्मी करियरलाई पूर्ण रूपमा त्याग गर्ने घोषणा गरे, जुन धेरैका लागि अचम्मको निर्णय थियो । थलापति ६९ उनको अन्तिम फिल्म हुनेछ । विजयको जितको पछाडि उनको एउटा गजबको रणनीति थियो ।
उनले ठूला नेताहरूले झैँ धेरै बोलेर होइन, थोरै देखिने र धेरै असर पार्ने रणनीति अपनाए । उनले आफ्नो पार्टीलाई धर्मनिरपेक्ष र सामाजिक न्यायको सिद्धान्तमा आधारित बनाए । उनले घोषणा गरेका केही ’पपुलिस्ट’ कार्यक्रमहरूले महिला र गरिब मतदाताको मन जित्यो ।
जस्तैः विवाहका लागि छोरीहरूलाई ८ ग्राम सुन, नवजात शिशुलाई सुनको औँठी, ६० वर्षमुनिका महिलालाई मासिक २५ सय रुपैयाँ भत्ता, हरेक परिवारलाई ६ वटा ग्यास सिलिन्डर निःशुल्क, महिला स्वयम् सहायता समूहका लागि ५ लाखसम्मको बिनाब्याज ऋण । यी बाचाले मानिसहरूलाई लाग्यो कि विजय केवल फिल्ममा मात्र होइन, वास्तविक जीवनमा पनि उनीहरूको दुःखको सहारा बन्न सक्छन् ।
विजयको राजनीतिक यात्रामा एउटा मोड यस्तो पनि आयो, जसले उनको संवेदनशीलता देखायो । करुरमा भएको टीभीकेको र्यालीका क्रममा भागदौड मच्चिँदा ४१ जनाको मृत्यु भयो । यो उनको राजनीतिक जीवनकै सबैभन्दा कठिन परीक्षा थियो । तर उनले तत्कालै मृतकका परिवारलाई २०–२० लाख र घाइतेलाई २–२ लाख राहत घोषणा गरेर जनतासँगको आफ्नो भावनात्मक सम्बन्धलाई अझ मजबुत बनाए ।
उनले प्रमाणित गरे कि उनी केवल भोटका लागि मात्र होइन, जनताको सुखदुःखमा साथ दिन राजनीतिमा आएका हुन् । विजयको उदयले भारतीय राजनीतिमा केही गम्भीर प्रश्नहरू उब्जाएको छ । के अब भारतमा सेलिब्रेटीहरू नै पुराना राजनीतिक दलका विकल्प हुन् ? निश्चित रूपमा, विजयको जितले तमिलनाडुमा मात्र होइन, सम्पूर्ण भारतीय राजनीतिमा एउटा नयाँ तरङ्ग ल्याएको छ ।
उनले साबित गरिदिएका छन् कि यदि जनता परिवर्तन चाहन्छन् भने ठूला–ठूला राजनीतिक विरासतहरू पनि बालुवाको घरजस्तै ढल्न सक्छन् । तर चुनौतीहरू अझै बाँकी छन् । सत्ता बाहिर बसेर बाचा गर्नु र सत्तामा बसेर डेलिभरी दिनु दुई फरक कुरा हुन् ।
५ लाखको ऋण र सुनको औँठी बाँड्ने बाचाले चुनाव त जितियो, तर के यी बाचाहरूले तमिलनाडुको भविष्य चम्काउलान् ? के विजयले ’रिल हिरो’बाट ’रियल हिरो’ सम्मको यो यात्रालाई न्याय गर्न सक्लान् ? यो त समयले नै बताउनेछ । विजयले फिल्ममा अभिनय गर्न त छोड्ने घोषणा गरिसके, तर उनको वास्तविक अभिनय त अब तमिलनाडुको विधान सभामा सुरु हुनेछ ।



