६ जेठ,काठमाण्डौ।
कंगो र उसका छिमेकी देशहरुमा इबोलाका संक्रमितहरुको संख्या बढ्दै गएपछि यो भाइरस सोचेको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले दिएको चेतावनी र यता नेपालमा पनि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । पूर्वी कंगोमा इबोलाको दुर्लभ ‘बुन्डिबुग्यो’ भाइरस प्रकोपका कारण १३१ जनाको मृत्यु भएको छ ।
५०० भन्दा बढी शंकास्पद बिरामी फेला परेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल घोषणा गर्दै महामारीको तीव्र फैलावटप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । कंगोका जनस्वास्थ्यमन्त्री सामुएल रोजर काम्बाले यो जानकारी दिएका हुन् । उनले मृत्यु भएका सबै व्यक्तिको इबोलाकै कारण ज्यान गएको हो वा होइन भन्ने पुष्टि गर्न प्रयोगशाला परीक्षण जारी रहेको स्पष्ट पारे ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, शुक्रबार पहिलोपटक पुष्टि भएको यो प्रकोप ‘बुन्डिबुग्यो’ भाइरसका कारण फैलिएको हो । यो इबोला रोगको दुर्लभ प्रकार हो, जसका लागि हालसम्म कुनै पनि स्वीकृत उपचार वा खोप उपलब्ध छैन । कंगो र युगान्डामा हालसम्म २० पटकभन्दा बढी इबोलाको प्रकोप फैलिसकेको भए पनि ‘बुन्डिबुग्यो’ भाइरस फेला परेको यो केवल तेस्रो घटना हो ।
यस भाइरसबाट संक्रमित बिरामीहरू बुनिया, गोमा, मोंगबवालु, बुटेम्बो र न्याकुन्डे क्षेत्रमा फेला परेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले जेनेभाबाट प्रतिक्रिया दिँदै महामारीको दायरा र यसको तीव्र गतिबारे आफू अत्यन्त चिन्तित रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघअन्तर्गतको स्वास्थ्य एजेन्सी डब्लूएचओले आवश्यक सिफारिस र रणनीतिबारे छलफल गर्न आफ्नो आपतकालीन समितिको बैठक बोलाएको जनाएको छ । ‘बुन्डिबुग्यो’ भाइरस इबोलाको यस्तो दुर्लभ प्रकार हो, जसका लागि हालसम्म कुनै पनि स्वीकृत औषधि वा खोप विकसित हुन सकेको छैन ।
इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिएका छन् । एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै सङ्क्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डा. एनी एन्सियाले बताएकी छन् ।
अधिकारीहरूले आजसम्म कङ्गोमा ५०० भन्दा धेरै शङ्कास्पद सङ्क्रमित रहेको बताएका छन् भने छिमेकी युगान्डामा एक जनाको ज्यान गएको छ । तर लन्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सियस डिजिज एनालिसिसको मोडलिङले ‘पर्याप्त’ पत्ता लगाउन नसकिएको र १ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको छ ।
अध्ययनका अनुसार अहिलेको प्रकोप ‘अहिले पत्ता लागेको भन्दा ठूलो’ र यसको ‘वास्तविक परिमाण अनिश्चित’ छ । रेडक्रसले यदि सङ्क्रमितहरू चाँडै पहिचान गरिएन भने इबोला भाइरस द्रुत गतिमा फैलिन सक्ने चेतावनी दिएको छ ।यता नेपालमा भने अहिले बर्डफ्लुको जोखिम बढ्दै गएको देखिएको छ ।
पछिल्लो पटक काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।
नगरपालिकाले नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर काठमाडौंमा परीक्षणका लागि पठाइएको थियो । ‘प्रयोगशालाबाट आएको परीक्षण नतिजाअनुसार ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु पुष्टि भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।
नगरपालिकाले सूचना निकालेर बर्डफ्लु रोगबाट मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न तथा संक्रमण फैलिन नदिन सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सूचनामा कुखुरा फार्ममा जैविक सुरक्षा विधि कडाइका साथ लागू गर्न, अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, फार्म परिसरमा अन्य पशुपन्छी प्रवेश हुन नदिन तथा फार्ममा प्रयोग हुने सामग्री नियमित निःसंक्रमण गर्न आग्रह गरिएको छ ।
त्यस्तै, कुखुरा पालन गर्ने कृषकलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, बिरामी कुखुरा देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन तथा खुला रूपमा कुखुरा पालन नगर्न पनि अनुरोध गरिएको छ । नगरपालिकाले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन दिएको छ ।
साथै कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह पनि गरिएको छ ।



