६ जेठ,काठमाण्डौ।
हुम्लामा एक्कासी ठूलो वर्षा भएको छ । वर्षासंगै त्यहाँ बाढी र पहिरोले संरचनाहरुमा पनि ठूलो क्षति पुर्याएको छ । जिल्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि बगाएको स्थानीयले जानकारी दिएका छन् ।
चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् । गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।
यता कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा पनि हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ ।
यस्तै राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने हिमाली भेगमा हिमपातको पनि सम्भावना छ । यता काठमाडौँ उपत्यकाको मौसम आज बिहानैदेखि धुम्म भएको छ । गण्डकी र बागमती प्रदेशको बिचमा पानी पार्ने प्रणाली विकास भएकाले काठमाडौँ उपत्यकाको मौसम पनि बदली भएको हो ।
उता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा भने आज तातो दिन हुने सम्भावना छ । मौसम पूर्वानुमान अनुसार आज दिउँसो यी क्षेत्रमा तापक्रम निकै बढ्ने सम्भावना छ । पश्चिमी तराईका अधिकांश सहरमा दिउँसो कडा घाम लाग्ने र ‘तातो दिन’ महसुस हुनेछ । आज सबैभन्दा बढी गर्मी धनगढीमा हुने पूर्वानुमान छ ।
त्यहाँको अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । यसैगरी नेपालगञ्जको तापक्रम ३८ देखि ४० डिग्री, दिपायलको ३७ देखि ३९ डिग्री तथा भैरहवा र वीरेन्द्रनगरको तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियससम्म पुग्नेछ । यी सहरहरूमा वर्षाको कुनै सम्भावना नरहेकाले दिउँसोको समयमा अत्यधिक गर्मी हुनेछ ।
पश्चिमी तराईमा गर्मी बढिरहँदा देशका पहाडी तथा पूर्वी भू–भागमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो । राजधानी काठमाडौँसहित पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ ।
विशेषगरी ओखलढुङ्गा, धनकुटा र ताप्लेजुङमा दिउँसो ४० प्रतिशतसम्म मध्यम वर्षाको सम्भावना रहेको छ । आज रातिको मौसम हेर्दा सुदूरपश्चिमका डडेल्धुरा, दिपायल, धनगढी लगायतका सहरहरूमा आकाश मुख्यतया सफा रहनेछ। तर मध्य र पूर्वी भेगका धेरै स्थानमा राति पनि मौसम खुल्ने छैन ।
पोखरा, सिमरा, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर र ताप्लेजुङमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । पहाडी तथा हिमाली जिल्लाहरू जोमसोम र जुम्लामा भने आज दिउँसो र राति पनि मौसम आंशिकदेखि साधारणतया बदली मात्र रहनेछ ।
यसैबीच विभिन्न भागमा वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरूमा यातायात अवरुद्ध भएको छ ।
कोशी प्रदेशको भोजपुर र सङ्खुवासभामा यातायात प्रभावित भएको छ । भोजपुर नगरपालिका–५, बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ, जहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ । यस्तै, सङ्खुवासभाको मकालु गाउँपालिका–३, नयाँ बस्तीमा खसेको पहिरोका कारण कोशी राजमार्ग पनि एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गण्डकी प्रदेशमा लमजुङ र म्याग्दी जिल्ला बढी प्रभावित भएका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका–१०, बिमिरेभञ्ज्याङमा खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, जलथलेमा पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा छ । कर्णाली प्रदेशको हुम्ला जिल्ला, नाम्खा गाउँपालिका–२ मा पहिरोको जोखिम बढेका कारण हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।



