८ जेठ , काठमाण्डौ।
अमेरिकाले इरानमाथिको आक्रमण रोकेर वार्ताका लागि दबाब बढाइरहेको अवस्थामा इरानले लगातार अमेरिकासँग नझुक्ने प्रतिक्रिया दिइरहेको अवस्थामा यो बीचमा इरान सैन्यरुपमा झनै शक्तिशाली बनिरहेको अमेरिकी गुप्तचर निकायहरूले खुलासा गरेका छन् । इरानले हालैका सैन्य आक्रमण र क्षतिपछि आफ्नो सैन्य औद्योगिक संरचना अपेक्षाभन्दा धेरै छिटो पुनर्निर्माण गरिरहेको निष्कर्ष उनीहरूले निकालेका छन्।
तेहरानले पुनः ड्रोन उत्पादन सुरु गरिसकेको र आफ्नो रक्षा क्षमतालाई तीव्र गतिमा पुनर्संरचना गरिरहेको सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ । रिपोर्टअनुसार, अमेरिकी विश्लेषकहरूले इरानको सैन्य क्षमतामाथि हालै परेका प्रहारहरूले केही समयका लागि असर पारे पनि त्यसले इरानी रक्षा उत्पादन प्रणालीलाई दीर्घकालीन रूपमा कमजोर बनाउन नसकेको आँकलन गरेका छन् ।
अमेरिकी गुप्तचर स्रोतहरूका अनुसार, इरानले निगरानी तथा आक्रमण क्षमतायुक्त विभिन्न प्रकारका ड्रोन उत्पादन फेरि सुरु गरिसकेको छ। इरानले आफ्नो सैन्य उत्पादन प्रणालीलाई पूर्ण रूपमा केन्द्रीकृत नगरी विभिन्न स्थानमा फैलाएर सञ्चालन गर्ने रणनीति अपनाएकाले उसलाई पूर्ण रूपमा निष्क्रिय पार्न कठिन भएको अमेरिकी अधिकारीहरूको बुझाइ छ।
विशेषगरी शाहेद श्रृंखलाका ड्रोनहरू पुनः उत्पादनमा फर्किनु वासिङ्टनका लागि चिन्ताको विषय बनेको बताइएको छ। अमेरिकी गुप्तचर रिपोर्टमा हालै अमेरिकी तथा इजरायली आक्रमणका कारण इरानका केही सैन्य र औद्योगिक संरचनामा क्षति पुगेको उल्लेख छ।
तर, अमेरिकी गुप्तचर समुदायले इरानले वैकल्पिक आपूर्ति सञ्जाल, भूमिगत संरचना र छरिएका उत्पादन केन्द्रमार्फत क्षति न्यूनीकरण गर्दै पुनः उत्पादन क्षमता हासिल गरिरहेको जनाएको छ। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ–इरानले अनुमानभन्दा छिटो आफ्नो रक्षा उत्पादन प्रणाली पुनः सक्रिय बनाएको देखिन्छ।
अमेरिकी अधिकारीहरूले इरानको सैन्य पुनर्निर्माणमा बाह्य प्राविधिक सहयोगको सम्भावनाबारे पनि निगरानी गरिरहेको बताइएको छ। विशेषगरी रुससँगको सैन्य सहकार्य र चीनसँगको प्राविधिक सम्बन्धले इरानलाई दीर्घकालीन रूपमा सैन्य उत्पादन पुनस्र्थापित गर्न सहयोग पु¥याउन सक्ने आशंका अमेरिकी पक्षको छ।
विश्लेषकहरूका अनुसार, इरानले ड्रोन र मिसाइल उत्पादनलाई पुनः तीव्र बनाए मध्यपूर्वमा शक्ति सन्तुलन र सुरक्षा अवस्थामाथि नयाँ दबाब पर्न सक्छ। यमन, लेबनान, सिरिया र इराकमा इरान समर्थित समूहहरूलाई भविष्यमा थप सैन्य सामग्री उपलब्ध गराउने सम्भावनाबारे पनि चिन्ता व्यक्त गरिएको छ।
सीएनएनका अनुसार, इरानको तीव्र पुनर्निर्माणले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि नयाँ रणनीतिक दबाब सिर्जना गरेको छ। वासिङ्टनभित्र इरानमाथि थप दबाब, नयाँ प्रतिबन्ध वा पुनः सैन्य विकल्पबारे बहस चर्किरहेको जनाइएको छ। तर केही अमेरिकी अधिकारीहरूले केवल सैन्य प्रहारले इरानको दीर्घकालीन सैन्य क्षमता समाप्त गर्न नसक्ने चेतावनी दिँदै कूटनीतिक विकल्पलाई पनि समान रूपमा विचार गर्नुपर्ने बताएका छन्।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् कि उनी इरानको समृद्ध युरेनियम भण्डार अमेरिकाले हासिल गर्नेछ। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने कि हामी यसलाई इरानसँग रहन दिने छैनौं। यस क्रममा उनले कब्जामा लिएपछि युरेनियम नष्ट गर्ने संकेत दिए। अमेरिका र इरानबीचको शान्ति वार्तामा तेहरानको युरेनियम भण्डार एक प्रमुख मुद्दा बनेको छ।
इरानले भनेको छ कि उसले अमेरिकालाई आफ्नो युरेनियम सुम्पने छैन। इरानसँग लगभग ४०० किलोग्रामभन्दा बढी युरेनियम छ भन्ने मानिन्छ, जुन ६० प्रतिशतसम्म समृद्ध छ। ट्रम्पका अनुसार करिब एक वर्षअघि जुन २०२५ मा अमेरिका र इजरायलले इरानी परमाणु सुविधाहरूमा गरेको हवाई आक्रमणका क्रममा यो युरेनियम जमिनमुनि पुरिएको थियो।
यो युरेनियम हासिल गर्नु नै ट्रम्पको इरानविरुद्धको युद्धको मुख्य उद्देश्य हो। यसको लक्ष्य तेहरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नु हो। ट्रम्पको यो बयान त्यस बेला आएको छ जब रिपोर्टहरूमा भनिएको छ कि इरानले आफ्नो युरेनियम सुम्पने कुनै योजना राखेको छैन।
रोयटर्सले दुई इरानी स्रोतहरूको हवाला दिँदै जनाएको छ कि इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले आदेश दिएका छन् कि देशको हतियार–ग्रेडनजिकको युरेनियम विदेश पठाउनु हुँदैन। इरानी सर्वोच्च नेताको यो आदेशले युद्ध समाप्त गर्नसम्बन्धी वार्तालाई झनै जटिल बनाउन सक्छ।
इजरायली अधिकारीहरूले रोयटर्ससँग भनेका छन् कि ट्रम्पले इजरायललाई आश्वासन दिएका छन् कि इरानको हालको अत्यधिक समृद्ध युरेनियम भण्डारलाई देशबाहिर पठाइनेछ। कुनै पनि शान्ति सम्झौतामा यसलाई एउटा अनिवार्य शर्त बताइएको छ। इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि भनेका छन् कि इरानविरुद्धको युद्ध तबसम्म समाप्त हुने छैन जबसम्म उसको समृद्ध युरेनियम हटाइँदैन।
यसका अतिरिक्त तेहरानको प्रोक्सी समूहहरूलाई समर्थन र ब्यालेस्टिक मिसाइल क्षमताहरू नष्ट गर्नु पनि युद्ध अन्त्यका शर्त भनी उनले उल्लेख गरेका छन्। अमेरिकाले ४० दिने युद्धमा ठूलो क्षति ब्यहोरेको अमेरिकी रिपोर्टहरुले नै पष्टि गरेका छन् । अमेरिकाको कांग्रेसनल रिसर्च सर्भिसको हालैको रिपोर्टमा भनिएको छ कि इरानसँगको ४० दिने युद्धका क्रममा अमेरिकी सेनाले ठूलो क्षति बेहोर्नु परेको छ।
रिपोर्टका अनुसार, युद्धको क्रममा अमेरिकाका ४२ वटा सैन्य विमान नष्ट भए वा तिनीहरूलाई ठूलो क्षति पुग्यो। यसमा अमेरिकाको सबैभन्दा अत्याधुनिक मानिने एफ ३५ स्टेल्थ फाइटर पनि समावेश छ। रिपोर्टको हवाला दिँदै अमेरिकी क्षतिको विश्लेषण गर्दा अमेरिकाका अधिकांश विमानहरू युद्धका अन्तिम दिनहरूमा नष्ट भएको देखिएको उल्लेख गरिएको छ ।



