नेपालकै पहिलो विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक

९ भदौ ८३, मंगलबार

९ भदौ , काठमाण्डौ ।

Advertisement

वर्षाैदेखि परनिर्भरतामा रहेको नेपाल अब आफ्नै ब्रान्डको स्कुटर उत्पादक राष्ट्र बनेको छ । नेपाली ब्रान्ड यात्रीले आफ्नो नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गरेको छ । सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी–२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।

पी–२ लाई तीन फरक ब्याट्री क्षमतामा उपलब्ध गराइएको छ । कम्पनीका अनुसार ग्राहकले ५.२ किलोवाट आवर, ३.७ किलोवाट आवर र ३ किलोवाट आवर क्षमताका ब्याट्रीमध्ये विकल्प रोज्न सक्नेछन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी २’ सार्वजनिक गरेका हुन् ।

Advertisement

स्कुटरको सोमबार सार्वजनिक गर्दै उनले नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास जगाएको बताए । बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो,अर्थमन्त्री डा. वाग्लेले भने,नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगायो।

अर्थमन्त्रीले उक्त स्कुटर इटालीका प्रख्यात ब्रान्डहरूभन्दा पनि अब्बल बनोस् र विश्व बजारमा फैलिन सकोस् भन्दै शुभकामना पनि दिए । सो क्रममा उनले नेपालमै बनेको यति राम्रो विद्युतीय स्कुटरको विस्तारका लागि सरकारले भरपूर सहयोग र संरक्षण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

Advertisement

सबैभन्दा ठूलो ५.२ किलोवाट आवर ब्याट्री भएको पी–२ ले एक पटक पूर्ण चार्जमा १ सय ५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै ३.७ किलोवाट आवर ब्याट्री भएको मोडेलले १ सय १२ किलोमिटर र ३ किलोवाट आवर ब्याट्री भएको मोडेलले ९० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

पी–२ को मुख्य विशेषतामध्ये डीसी फास्ट चार्जिङ सपोर्ट पनि छ । सिप्रदी यात्रीले स्कुटरका लागि देशभरि ३५ स्थानमा डीसी चार्जर स्थापना गर्ने जनाएको छ । पी–२ ले ३.३ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्ने छ । यसले लामो दुरीमा स्कुटर चलाउने ग्राहकलाई चार्जिङको सुविधा विस्तार गर्ने कम्पनीको अपेक्षा छ ।

यात्री पी–२ लाई केवल विद्युतीय स्कुटरका रूपमा मात्रै नभई स्मार्ट फिचर सहित बजारमा उतारिएको छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट उज्ञपलब्ध छ । स्कुटरमा रियल टाइम इनर्जी मिटर तथा स्मार्ट डिस्प्ले पनि राखिएको छ ।

पी–२ लाई बजार ल्याउनुअघि नेपालका विभिन्न भौगोलिक क्षेत्रमा परीक्षण गरिएको थियो । तराईदेखि पहाडी तथा कठिन सडकसम्म परीक्षण गरिएको कम्पनीले जनाएको छ । परीक्षण क्रममा जिरी, काठमाडौं, मुलकोट, कटारी, भरतपुर, वालिङ लगायत क्षेत्रमा स्कुटर चलाइएको थियो ।

सिप्रदी ट्रेडिङ र यात्री मोटरसाइकलको साझेदारीमा विकास भएको पी–२ लाई कम्पनीले नेपालमै डिजाइन, इन्जिनियरिङ र उत्पादन गरिएको विद्युतीय स्कुटरका रूपमा अघि सारेको छ । यससँगै नेपालमा आफ्नै डिजाइन र प्रविधिमा विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने प्रयासले थप व्यावसायिक रूप लिएको छ ।

पी–२ उत्पादनका लागि सिप्रदी यात्रीले उत्पादन प्लान्टमा करिब ६० करोड रुपैयाँ लगानी गर्ने र वार्षिक ५० हजार युनिटसम्म उत्पादन गर्ने योजना अघि सारेको छ । एक साता अघि पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको प्रवद्र्धन र विकासका लागि सरकारको पूर्ण साथ रहने बताएका थिए ।

काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को निर्माण प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिएका थिए । “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ।

यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,” कारखाना अवलोकनका क्रममा अर्थमन्त्री डा. वाग्लेले भनेका थिए, “गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”

नेपालमै आफ्नै डिजाइनमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण हुनु ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसलाई विश्व बजारसम्म फैलाउन आग्रह गरेका छन् । “एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा। सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस्।सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस्, तर विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,” उनले भनेका छन्, “नेपाली इन्जिनियर र डिजाइनरले गरेको यो मेहनतको म सम्मान गर्छु।”

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर आफूहरूले ऐतिहासिक सफलता हासिल गरेको दाबी गरेका छन् । “दुईपाङ्ग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसमा विश्वमै नभएका केही उच्चस्तरीय विशेषताहरू समावेश हुनु हाम्रा लागि नयाँ सफलता हो,” श्रेष्ठले भनेका छन् ।

कम्पनीका अधिकारीहरूका अनुसार डीसी चार्जर सुविधा भएको दुईपाङ्ग्रे विद्युतीय स्कुटर निर्माण हुनु विश्वकै लागि पहिलो र नौलो सफलता हो । बजारमा अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग प्रतिस्पर्धा गर्नका लागि स्वदेशी उत्पादनलाई सरकारको प्रोत्साहन आवश्यक रहेको सीईओ श्रेष्ठले औंल्याए ।

उनले विशेषगरी विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउन आवश्यक पर्ने कच्चा पदार्थको आयातमा सरकारले सहुलियतपूर्ण नीति लिनुपर्ने माग गरेका छन् । नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकेर फर्किएका असिम पाण्डेले सन् २०१७ मा ’यात्री मोटरसाइकल’ नामक स्टार्टअपबाट यो यात्रा सुरु गरेका थिए ।

हाल यो कम्पनी नेपालको अग्रणी अटोमोबाइल वितरक सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यमा ’सिप्रदी यात्री’को रूपमा अगाडि बढेको छ । यात्री पी–२ स्कुटरलाई नेपालमै आफ्नै डिजाइन र इन्जिनियरिङमा तयार पारिएको हो । यसको गुणस्तर परीक्षण भारतको दुईपाङ्ग्रे सवारीसाधन जाँच गर्ने आधिकारिक निकायबाट समेत गराइएको कम्पनीले उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top