२८ कात्तिक, एजेन्सी ।
अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी भएका छन्। अमेरिकी सञ्चारमाध्यमहरु एनबीसी, सीबीएस र सीएनएनले साे क्षेत्रमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जितेको बताएका हुन् ।
यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसकेका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ। ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११ हजारभन्दा बढी मतले हराएका हुन् । बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गरेका छन्।
सन् १९९६ मा बिल क्लिन्टन विजयी भएपछि पहिलो पटक एरिजोना राज्यमा डेमोक्रेटिक उम्मेदवार विजयी भएका हुन्। चार वर्षअघि डोनाल्ड ट्रम्पले यहाँ ३.५ प्रतिशत बिन्दुले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए
शनिबार जो बाइडेनलाई आधिकारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरिदैँछ तर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आधारहीन आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । ट्रम्पले राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् भने ह्वाइट हाउसमा अन्तरिम पहुँच दिन अस्वीकार गरेका छन्।
१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र १६ इलेक्टोरल भोट रहेको जर्जियामा भने विजेता घोषणा गर्न बाँकी नै छ । नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् भने जर्जियामा बाइडेन अगाडि छन् ।