१७ मंसिर, विराटनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिबादीलाई १५ बर्ष पछि पक्राउ गरिएको छ । सवारी ज्यान मुद्दाका फरार मोरङ ग्रामथान-२ का ३३ बर्षीय वलराम सरदारलाइ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
मिति २०६२ साल मंसिर १९ गते सरदारले चलाएको कस्तुरी उच्च माध्यमीक विद्यालय इटहरीबाट संचालित ना २ ख ६० नम्बरको बस सुनसरी मधेशा-४ राजमार्गमा दुर्घटना हुँदा बसमा सवार रहेकी छात्रा १८ बर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको थियो ।
बस दुर्घटना पश्चात फरार रहेका सरदारलाइ हिजो पक्राउ गरी उनि उपर कानुनी कारबाही अगाडी बढाइएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ठगी र नकवजनी चोरी मुद्दाका तीन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर-६ का ५३ बर्षीय सकिल खान रहेका छन् भने नकवजनी चोरीका विराटनगर-१ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन् ।
उनीहरु मिति २०७३ साल असार २४ गते बाट फरार रहेका थिए । पक्राउ पश्चात उनीहरुलाई जिल्ला अदालत मोरङमा बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।