नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

नयाँ दल दर्ता गृहकार्यमा नेपाल समूह

८ वैशाख, काठमाडौँ । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।

पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।

स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।

‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौँ ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् ।

नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने सो समूहका नेताले बताए । यो समाचार राजधानी दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.