७ जेठ, काठमाडौँ ।
विजयकुमार बमले बिहीबार ट्वीट गरेका छन्, ‘यस्तो विषम परिस्थितिमा ज्येष्ठ नागरिकको भत्ता बढाउनुको सट्टा ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिनको तु व्यवस्था गर सरकार, यसमा नै सबैको भलाइ छ । प्राणै नरहे त्यो जाबो पैसा के काम ।’
उनले जस्तै खोपको चासो हिमा विष्टले पनि गरेकी छन् । ‘सरकार, हाम्रा बा–आमालाई दोस्रो डोज खोप खै ? मेरो पहिलो त कता हो कता तर घरै बस्दा पनि नियम पालना गरेका घरका ठूलाको हालत देख्दा डर र त्रास कहिलेसम्म ?’ विष्टले ट्वीटरमा लेखेकी छन् ।
सरकारले फागुन तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको उक्त खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।
पहिलो डोज खोप लगाउन पाएपछि खुसी भएका वृद्धवृद्धा अहिले दोस्रो डोजको पर्खाइमा छन् । यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन ।
स्वास्थ्य सेवा विभागका अनुसार यसरी खोप कुरेर बस्ने १४ लाख ५३ हजारभन्दा बढी छन् । केही दिनअघि सांसद, संसद् सचिवालयका कर्मचारी, सांसदका स्वकीय सचिवसहित १ हजार ८ सय जनाले दोस्रो डोज खोप लगाए ।
विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो सातासम्म दोस्रो डोज लिइसक्नुपर्ने हुन्छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ