काठमाडौँ, २ मंसिर ः नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी चुनावमा वाम गठबन्धनले दुई तिहाइ बहुमतका साथ सरकार बनाउने दाबी गर्नुभएको छ ।
पाँचौँ अन्तर्राष्ट्रिय चर्पी दिवसका अवसरमा काठमाडाँै क्षेत्र नं ८ को वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा उहाँले वाम गठबन्धनको विजय सुनिश्चित भइसकेकाले निर्वाचनपछि दुई तिहाइको बहुमतसहित सरकार बन्ने बताउनुभयो ।
वाम गठबन्धनले नै देशलाई स्थिरतातर्फ लैजाने भन्दै उहाँले नेपालको समृद्धिका लागि कम्युनिष्ट सरकारको विकल्प नभएको जिकिर गर्नुभयो ।
काठमाडौँ क्षेत्र नं ८ को प्रदेश ‘ख’ का उम्मेदवारसमेत रहनुभएका उपाध्यक्ष शाक्यले निर्वाचनपछि देशले मुहार फेर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दिवसको अवसर पारेर ‘महानगरको सार्वजनिक शौचालय सफा राखौँ’ भन्ने जागरण अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो ।
उहाँले चुनाव केन्द्रित नभएर महानगरलाई स्वच्छ, सफा बनाउनका अभियान गरेको बताउनुभयो ।
सोही क्षेत्रका वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभाका उम्मेदवार जीवनराम श्रेष्ठले अहिले जनताले राजनीतिक अस्थिरताको अन्त्य चाहेको बताउनुभयो ।
मुलुकमा अस्थिरताका कारण सबै क्षेत्र अस्तव्यस्त भएको भन्दै स्थिरताका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउनुभयो ।
उहाँले काठमाडौँ क्षेत्र नं ८ सम्पदाको भण्डार भएको क्षेत्र भएकाले वसन्तपुर र स्वयम्भू चैत्यलाई ‘हेरिटेज वाक’का रुपमा विकास गर्ने बताउनुभयो ।
रासस