व्यापारी भन्छन् – न जनै लगाउने छन् न क्वाटी खाने

व्यापारी भन्छन् – न जनै लगाउने छन् न क्वाटी खाने

५ भदाै, काठमाडाैँ ।

जनै र जनै पूर्णिमाको रातमा खाईने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन् । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन् ।

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए । क्वाटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाई छ । तुलाधरले भने, ‘व्यापार यसपाली त्यति छैन । धेरै कम छ । क्वाटी वर्षमा एक पटक खानैपर्ने हो । तर यसको व्यापार कम छ ।’

यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए । उनले कोहीकोही बुढाबुढीले जनै लगेपनि युवाहरु धेरैले यसलाई लगाउननै छाडिसकेको अनुभव सुनाए । न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गर्नु भएको छ । तर ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ ।

जनै पूर्णिमालाई हिन्दुहरुको विशेष पर्व मानिन्छ । तर कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.