काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन हुने नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ ।
कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन १८ भदौमा सुरु भइसक्नुपर्छ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुने नहुने निश्चित छैन ।
क्रियाशील सदस्यताको विषयमा देखिएको विवादको समाधानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता निरन्तर जसो छलफलसमेत गर्दै आइरहेका छन् । हाल विवाद समाधानको जिम्मा नेता कृष्णप्रसाद सिटौलासहित नेताहरू रमेश लेखक र डा. मीनेन्द्र रिजाललाई दिइएको छ ।
कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको प्रतिवेदन विवादलाई यथावत् राखेर पदाधिकारीसहित शीर्ष नेतृत्वलाई बुझाएको थियो । नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको थियो । सो समय नाघिसकेको छ ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।