एकैदिन ८३ फरार अपराधी पक्राउ

एकैदिन ८३ फरार अपराधी पक्राउ

१० भदौ, धरान ।

यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो ।

जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन गराउन सुनसरी जिल्ला प्रहरी कार्यालयले बुधबार मात्रै ८३ फरार अपराधीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई बुधबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । पक्राउ पर्नेमा गर्भपतन, मानव बेचबिखन, सवारी ज्यान, लागुऔषध, जबरर्जस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार र गाली बेइज्जती मुद्दासँग सम्बन्धित थिए ।

आपराधिक घटनामा संलग्न भई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्ति अन्त्य गर्न चलाइएको अभियानमा यसअघि एकै महिनामा २३८ फरार अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।

“अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ,” प्रहरी उपरीक्षक थापाले भने, “हामी पुराना फाइल हेदैछौँ। दोषी ठहर भएका तर सजाए नभोगेका अपराधीलाई क्रमशः नियन्त्रणमा लिएर अदालत बुझाउछौं ।”

प्रहरीका अनुसार फरार भइ हालसम्म पक्राउ परेकाहरूबाट ८० वर्ष दुई महिना २३ दिन कैद भुक्तान र रू १४ लाख ७९ हजार ५०० जरिवाना असुल भएको भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.