१८ भदाै, काठमाडौं ।
बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका लागि गर्न नेपाल आउने भएका छन् । उनी ‘उचाईँ’ नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेकाे भारतीय मिडियामा उल्लेख गरेका छन्। सुटिङका लागि उनीसहित कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउँदैछन् ।
‘प्रेम रतन धन पायो’ फेम्ड निर्देशक सूरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । फिल्मको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले निर्देशक बडजात्याले नेपाललाई रोजेको जनाइएकाे छ ।
राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।
फिल्मको छायांकनको विषयमा छलफल गर्न केही समय अगाडि निर्देशक बडजात्या नेपाल आएका थिए । करीब दुई साता नेपाल बसेर उनले छायांकन स्थलको टुंगो लगाएका हुन् । फिल्मको छायांकन अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनी थ्री ह्विलर्सले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ ।