विराटनगर, असार ३१
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डाक्टर गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको आरोप लगाएका छन ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले व्यक्तिको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकाले डाक्टर केसीले उठाएका माग अविलम्ब सम्बोधन गरेर उनको अनसन तोडाउनुपर्ने बताए ।
उनले पुर्ववर्ती सरकारले गरेको सहमति पछिल्लो सरकारले तोड्दै जाने हो भने राज्य संचालनमा अफ्ठयारो अवस्था सृजना हुने बताउँदै डा. केसीसँग गरिएको सहमतिअनुसारको अध्यादेश वा कानुन ल्याएर तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसले सो विषयलाई सदनमा र नागरिक समाजले सडकबाट सरकारलाई दबाब दिइरहे पनि सरकारले उपेक्षा गरिरहेको उल्लेख गरे । सबैतिरबाट दबाब आइरहँदासमेत सरकारले चासो नलिएको बताउँदै उनले दबाबको स्वरुप परिवर्तन हुनसक्ने चेतावनीसमेत दिएका छन ।
सरकारले कुन किसिमको व्यवहारबाट समस्याको समाधान गर्छ विरोधको स्वरुप त्यसमा निर्भर रहने उनको भनाइ थियो । नेता गच्छदारले आफूले कांग्रेससँग अलग हुने कुरा कहिल्यै पनि नगरेको दाबी गरे ।
उनले एकता भएको ९ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको विषयमा पार्टीभित्र आफ्ना कुराहरु मात्र राखेको उनले बताए । पार्टी एकताको समयमा भएको सहमति कार्यान्वयन नभए त्यो भने सबैका लागि हानिकारक हुनसक्ने गच्छदारको भनाइ थियो ।