काठमाडौं, साउन १८
दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको लक्ष्य दिएको छ । कप्तान पारस खड्का र अलराउन्डर सोमपाल कामीको अर्धशतक प्रहारसँगै नेपालले ४८.५ ओभरमा २१६ रनको योगफल तयार पारेको हो ।
६९ बलमा ५१ रन जोडेका पारस सिलारको बलमा क्याच आउट भए उनले २ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै, रिप्पोनको बलमा पेभेलियन फर्कनुअघि आक्रामक सोमपालले ३ छक्का र पाँच चौकाको सहयोगमा ६१ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरी र सुवास खकुरेलले समान १९र१९ रन जोडे भने आरिफ शेखले १६ र उपकप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।
एकदिवसीय क्रिकेटको डेब्यु खेलमा बुधबार नेपाल नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो । डेब्यु खेलमा नेपालका लागि उपकप्तान मल्लले अर्धशतकीय पारी खेलेका थिए ।