१८ मंसिर, एजेन्सी ।
अन्तर्राष्ट्रिय बजारमा लगातार छैटौं साता पेट्रोलियम पदार्थको भाउमा गिरावट देखिएको छ।
तेलको भाउमा सन् २०१८ यता पहिलोपटक लामो समयसम्म तेलको भाउमा गिरावट देखिएको हो। पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगीले तेल उत्पादन बढाएसँगै तेलको भाउ निरन्तरले घटेको हो।
यस साता अमरिकी कच्चा तेलको भाउ २.८ प्रतिशतले घट्यो। विशेषगरी ओमिक्रोन भेरियन्टबारे फैलिएको आशंकाले तेलको भाउ घट्नमा सहयोग पुगेको हो। त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउमा पनि गिरावट देखिएको छ।
प्रतिब्यारेल ८५ डलरको हाराहारीमा पुगेका अमेरिकी कच्चा तेल र ब्रेन्ट कच्चा तेलको भाउ अहिले प्रतिब्यारेल ७० डलरभन्दा कम छ।
ओपेक र उसका सहयोगी मुलुकले आगामी जनवरीबाट प्रतिदिन ४ लाख ब्यारेलले उत्पादन बढाउने निर्णय गरेका छन्। पछिल्लो समय तेलको माग अत्यधिक हुँदा भाउ घट्न सकेको थिएन।