विराटनगर, साउन २७
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नयां नेपाल निर्माणमा युवाहरु अग्रसर हुनपर्ने बताएका छन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक विकास मन्त्रालय,विराटनगर महानगरपालिका र युवा सम्बद्ध विभिन्न संघसंस्थाको सामूहिक आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले युवाहरु परिवर्तनका सम्बाहक रहेकाले नयाँ नेपाल निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने बताए ।
मन्त्री घिमिरेले नयां नेपाल निर्माणमा युवाहरुलाई आफ्नो लक्ष्य आफैले निर्धारण गरेर सोहि अनुसारको योग्यता र ब्यक्तित्व विकास गर्दै अघि बढ्न आग्रह गरे । मन्त्री घिमिरेले युवा उमेरमा जोश र होशलाई राम्ररी संयोजन गर्न सके भावी जीवन सफल हुने समेत बताए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले युवाहरुले सामाजिक र आर्थिक आन्दोलनको अगुवाई गर्नुपर्ने बताए । युवाहरु अझपनि मुलप्रवाह भन्दा पछाडि रहेको उनको भनाई थियो ।
युवा संघका केन्द्रीय उपाध्यक्ष परशुराम बस्नेतले युवालाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने बताए । सो अवसरमा मोरङका विभिन्न विद्यालयबाट आएका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा सचेतनामुलक नाटक, सांस्कृतिक नृत्य र विपद जोखिम न्युनिकरण पूर्व तयारी अभ्यास प्रदर्शनी समेत गरिएको थियो ।