२५ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।
उनी कन्ट्याक्ट ट्रेसिङमा परेकाले शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहालमा शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा दाहाल सहभागी थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीमा कुनै लक्षण नदेखिए पनि दाहाललाई कोभिड देखिएकाले पीसीआर रिपोर्ट नआउँदासम्म (करिब तीन दिन) आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएको बताए ।
प्रधानमन्त्री शनिबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटेर आएलगत्तै आइसोलेसनमा बसेका हुन् । यद्यपि उनमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको स्वकीय सचिवले बताए ।