दिपायल विमानस्थलको स्तरोन्नतिको काम चाँडै सुरु हुन्छः पर्यटनमन्त्री आले

दिपायल विमानस्थलको स्तरोन्नतिको काम चाँडै सुरु हुन्छः पर्यटनमन्त्री आले

१५ फागुन, डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालनका लागि स्तरोन्नति गरिने बताएका छन् ।

पर्यटक भित्र्याउनका लागि भए पनि दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

उनले भने, ’दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेका छौँ, चाँडै नै यहाँ ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी गृहकार्य अगाडि बढाएका छौँ, काम सुरु हुन्छ ।’

दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहेका मन्त्री आलेले केही महिना पहिले १८ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाँडै टेण्डर प्रक्रिया गरी काम सुरु हुने समेत मन्त्री आलेले जानकारी दिए ।

दिपायलसहित अछाम, बाजुरा, बझाङ, बैतडी तथा दार्चुला विमानस्थलको स्तरोन्नति तथा नयाँ निर्माण हुने डडेलधुरा विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले ती विमानस्थलको काम पनि चाँडै सुरु हुने बताए ।

उनले भने, ’बन्द अवस्थामा रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलमा अब नियमित जहाज चलाउन मिल्ने गरी काम हुने छ, पर्यटक तथा नागरिकको सहजताका लागि सबै विमानस्थल सञ्चालन हुन्छन् ।’

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीमा रहेको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक बजेट विनियोजन भइ थप कार्यक्रम सुरु भइरहेको जानकारी दिए ।

यस विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण सहितका कामका लागि मन्त्री आलेले एक अर्ब बजेट विनियोजन गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.