काठमाडौं,साउन ३१
भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बिहीबार नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ ।खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।
साविकको उपविजेता भारतलाई नेपालले पराजित गर्न भने निकै कठिन हुनेछ । भारत अघिल्लो संस्करणमा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो ।भारत समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउदा नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा अघि बढेको हो । नेपालले समूह चरणमा पाकिस्तानलाई ४–० ले पराजित गर्दा डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३–० ले पराजित भएको थियो । यता, भारतले समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १२–० को तथा आयोजक भुटानलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
बिहिबारै दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानको सामना गर्नेछ । बंगलादेश समूह ‘बी’ को विजेता तथा भुटान समूह ‘ए’ का उपविजेता हो । फाइनल १८ अगस्टमा हुनेछ प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।