एजेन्सी,भदौ २
एसियाली मुलुकको सबै भन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार(आज) इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा सुरु हुँदै छ । हरेक चार वर्षमा हुने एसियाडको सन् १९६२ पछि इन्डोनेसियाले दोस्रो पटक आयोजना गर्न लागेको हो ।
१९५१ देखि सुरु भएको एसियाडको १९ औं संस्करण चीनले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । चीनले यसअघि २०१० मा पनि आयोजना गरेको थियो । आज हुने उद्घाटनमा ठूलो संख्यामा कलाकारहरुको सहभागिता रहने बताइएको छ ।
नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दै
एसियाडमा नेपालले २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । एसियाडका ४५ देशका खेलाडीले उद्घाटन समारोहमा मार्चपास गर्नेछन् । मार्च पासमा नेपाली टोलीको नेतृत्व गर्दै भारोत्तोलनका कमल अधिकारीले नेपालको झन्डा बोक्नेछन् । कमल अधिकारीले २००६ मा श्रीलंकामा भएको १० औं सागमा स्वर्ण जितेका थिए । भारोत्तोलनबाट सागमा नेपाललाई स्वर्ण पद दिलाउने उनी एक्लो खेलाडी हुन् ।
एसियाडमा नेपालले अहिले सम्म २३ वटा पदक जितेको छ । जसमध्ये एउटा कास्य पदक १९८६ मा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोको रहेको छ । त्यो पदक विधान लामाले दिलाएका थिए । २३ मध्ये अहिले सम्म सबैभन्दा ठूलो पदकका रुपमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन् । उनले १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन् ।
नेपाललाई तेक्वान्दोले नै एसियाडमा बढी पदक दिलाउने खेल भएपनि पछिल्लो दुई संस्करणमा भने खाली हात फर्केको छ । चीनमा २०१० मा र कोरियामा २०१४ मा भएको एसियाडमा नेपालले एक एक कास्य पदकमा चित्त बुझाउनु परेको थियो । चीनमा बक्सिङका दीपक महर्जन र कोरियामा करातेकी बिमला तामाङले पदक जितेका थिए ।