२३ फागुन, काठमाण्डौ ।
अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकर विरुद्ध अदालतमा अंश मुद्दा हालेपछि उनीहरुका प्रशंशकहरुबाट उनीहरुको सम्बन्धलाई लिएर अनेकौ प्रश्नसहित चासो राखेपछि निशाले अंश मुद्दाको खबरबीच आफूहरू ठिकठाक रहेको बताएकी छिन् ।
आफ्नो सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै उनले यो आफूहरूको निजी मामला भएको बताएकी छन् । तर अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन् । यो विषयलाई परिपक्वता र करुणाका साथ सुल्झाउने उनको भनाइ छ । स्टाटसमा उनले लेखेकी छन्, । ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदै छु।
यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’ उनले स्टाट्समा समाज कस्तो हुनुपर्छ र कस्तो हुनुहुँदैन भन्नेबारे पनि आफ्ना केही टिप्पणीहरू दिएकी छन्।
समाजमा आफ्नो अधिकारबारे सचेत रहने, हृदय अनि दिमाग प्रयोग गरेर आएका समस्याहरू समाधान गर्ने र जिन्दगीमा आउने जस्तोसुकै परिस्थितिमा पनि हाँसीहाँसी अघि बढ्न सक्ने व्यक्ति हुन जरुरी भएको उनको भनाइ छ।
त्यसै गरी, कोही व्यक्तिले हार खाएको हेर्न रुचाउने, आफ्नो गल्तीबिना माफी मगाउने र देखावटी माया गरेजस्तो गर्ने समाज सृजना हुन नहुने पनि उनले बताएकी छन्। आफ्ना सम्पूर्ण धारणाहरूसहित अन्तिममा उनले आफू, श्रीमान् शरद र छोरा युभान ठीक भएको जनाएकी छन्।
उनले अंग्रेजीमा लेखेको स्टाटसको नेपाली भावानुवाद यस्तो रहेको छ। म न त लुकाउने छु न त धेरै व्याख्या गर्नेछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।
हामीले एउटा यस्तो समाज सिर्जना गर्न आवश्यक छ, जहाँ यस्ता मानिसहरू हुनुपर्छ, आफ्नो अधिकारबारे सचेत, जो सहानुभूति खोज्दैनन् तर आफ्नो हृदय र दिमाग प्रयोग गरेर चिजहरू समाधान गर्नलाई प्राथमिकता दिन्छन् ।
जो जिन्दगीमा जस्तोसुकै परिस्थिति आउँदा पनि मुस्कुराएर अगाडी बढ्न सक्छन्। नियोजित जीवन परिस्थितिहरूको साथ र विरुद्ध अगाडि बढ्न सामर्थ्य राख्छन्। साथसाथै हामीले यस्तो समाज निर्माण गर्नु जरुरी छ जसले यो आशा राख्दैनस्
व्यक्तिहरू बिग्रिएको हेर्ने
जिम्मेवार नै नभएका चीजहरूमा माफी माग्नुपर्ने
सहानुभूति र माया देखाए जस्तो गर्ने
हामी सबैले नक्कल गर्न नसकिने विभिन्न व्यक्तिका अनुभवहरूप्रति हामी कत्तिको दयालु र स्वीकार्य छौँ भनेर सोच्न र पुनस् सोच्न आवश्यक छ। त्यो हाम्रो विशिष्टता हो । त्यो स्वीकृतिले हामीलाई मानिसको रूपमा परिभाषित गर्दछ र सामूहिक रूपमा हामीलाई मायालु समाज निर्माण गर्न नेतृत्व गर्दछ।
म, शरद र युवान ठिक छौ र सम्पूर्णमा अथाह माया, सम्मान र करुणा प्रकट गर्न चाहन्छौ। आशा छ कि तपाईँको होली सुखद बित्यो।निशाका पति शरद भेषावकर नेपालका चर्चित क्रिकेटर हुन्। तर पछिल्लो समय उनले राष्ट्रिय टीमबाट स्थान गुमाएका छन् ।
निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन्। निशा र शरदको एक छोरा पनि छन्। एकल सन्तानका रूपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । विवाह गरेको पाँच वर्षमै यी दुईको सम्बन्धमा दरार आएको हो। निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन् ।