१८ चैत,काठमाण्डौ ।
नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा–२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
‘बारा–२ को राजनीतिक अवस्था अत्यन्तै तरल भएकोले थप छलफल गरेर आइतबार उम्मेदवार टुंग्याइनेछ,’ गुरुङले भने । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ । तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् ।
यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए । खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनको परिवार कांग्रेसमा आबद्ध छन् । दाजु सुवीर खनाल नेपाली कांग्रेसको नेता हुन् । उनी गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव र पछि विज्ञको रूपमा समेत काम गरेका थिए ।
अर्का दाइ रवीन्द्र खनाल राजाको सक्रिय शासनका बेला सहायक मन्त्री भएका थिए । खनालको पारिवारिक लिगेसी र कांग्रेसतर्फको समेत धेरै मत तान्ने आँकलनसहित उनलाई अघि सारिएको हो । खनाललाई उम्मेदवार बनाउँदा कांग्रेसका गोविन्दराज जोशी समूह र नेकपा एसका किसान श्रेष्ठको समेत समर्थन जुटाउन सकिने आँकलन एमाले नेताहरूको छ ।
तनहुँ–१ मा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका गोविन्द भट्टराई उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने भएका छन् । विहीबारमात्रै काँग्रेस परित्याग गरेका वाग्लेले रास्वपाबाट उम्मेद्वार भइसकेपछि नेकपा एसका नेता किसान श्रेष्ठसंग पनि भेट गरिसकेका छन् । यस्तै चितवन २ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् ।
जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् । एमाले विद्यार्थी संगठन अनेरास्ववियूमा आवद्ध भएर २०५३ सालदेखि नै पूर्णकालीन भएका न्यौपाने युवा नेता मानिन्छ । चितवन–२ मा कांग्रेसले जित नारायण श्रेष्ठ र रास्वपाले रवि लामिछानेलाई उम्मेदवार बनाउँदै छ ।