१३ जेठ, एजेन्सी ।
अष्ट्रेलिया अलराउन्डर शेन एबोटले इंग्ल्यान्डको चर्चित टि२० प्रतियोगिता भिटालिटी ब्लास्टमा ३४ बलमै शतक हानेका छन् । एबोटको शतकको सहयोगमा सरेले केन्टलाई ४१ रनले पराजित गरेको छ । लन्डनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको साम करन कप्तान रहेको सरेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो ।
उसका लागि शेन एबोटले ४१ बलमा ४ चौका र ११ छक्कासहित १ सय १० रनको नटआउट शतकीय इनिङ खेले । उनले १९ औं ओभरको सुरुवाती दुई बलमा माइकल होगनलाई लगातार दुई छक्का हान्दै ३४ बलमै शतक पूरा गरेका थिए । टि२० क्रिकेटमा सर्वाधिक छिटो क्रिस गेलको नाममा छ ।
गेलले इन्डियन प्रिमियिर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुणे वारियर्सविरुद्ध २०१३ मा ३० बलमै शतक हानेका थिए । २०१८ मा भारतीय घरेलु क्रिकेट प्रतियोगितामा ऋषभ पन्तले दिल्लीबाट ३२ बलमै हिमान्चल प्रदेशविरुद्ध शतक हानेका थिए । २०१८ मा नर्थ वेस्टबाट दक्षिण अफ्रिका घरेलु प्रतियोगितामा विहान लुबेले लिम्पोेपोविरुद्ध ३३ बलमा शतक हानेका थिए ।
एबोटको यो टि२० आई करिअरकै पहिलो शतक समेत हो । उनले अष्ट्रेलियाबाट ११ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । उनले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् । उनी बाहेक सरेका साम करनले १५, टम करन १६, विल जाक्स १७ र जोर्डन क्लार्कले २९ रन बनाए ।
जितको लागि २ सय २४ रनको विजयी लक्ष्य पछ्याएको केन्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । यता आइपिएलमा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्याप युवा ब्याटर शुभमन गिलले पाउने पक्का भएको छ । पछिल्ला चार मध्य तीन इनिङमा सानदार शतक हानेपछि गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो ।
गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका फाफ डु प्लेसिस छन् । डु प्लेसिस १४ खेलमा ८ अर्धशतकका साथ ७ सय ३० रनका साथ दोस्रो स्थानमा छन् । तर बेंगलोर लिगबाटै बाहिरिएको थियो ।
त्यस्तै बेंगलोरका विराट कोहली १४ खेलमा ६ सय ३९ रनका साथ तेस्रो स्थानमा रहँदै बाहिरिएका छन् । फाइनलमा पुगेको टोलीबाट डेभन कन्वे चौथो स्थानमा छन् । तर कन्वेले फाइनलमा यदि गिल डक आउट हुँदा पनि २ सय २६ रन भन्दा बढी रन बनाउनु पर्ने हुन्छ । एकै खेलमा २ सय २६ रन भन्दा बढी टि२० क्रिकेटमा एक ब्याटरका लागि असम्व छ ।
त्यसैले गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो । डेभन कन्वे १५ खेलमा ६ अर्धशतकका साथ ६ सय २५ रनका साथ चौथो स्थानमा छन् । गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् । गिलले हैदराबादविरुद्ध १ सय १ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
लगातार दुई शतक हानेका गिल चेन्नईविरुद्ध भने ४२ रनमा आउट हुन पुगेका थिए । दोस्रो क्वालिफायरमा मुम्बईविरुद्ध गिलले १ सय २९ रनको सानदार शतकीय इनिङका साथ फाइनलमा स्थान पक्का गराए । उता सर्वाधिक विकेट लिए वापत पाउने अवार्ड पर्पल क्याप अवार्डमा भने गुजरात टाइटन्सका तीन बलरबीच उच्च प्रतिस्पर्धा छ । फाइनलको प्रदर्शनबाट निर्धारण हुने देखिन्छ ।
गुजरातका मोहम्मद शामी १६ खेलमा २८ विकेटका साथ शीर्ष स्थानमा छन् । राशिद खान समान खेलका साथ २७ विकेटका साथ दोस्रो स्थानमा छन् । गुजरातकै मोहित शर्मा १३ खेलमा २४ विकेटका साथ तेस्रो स्थानमा छन् । चेन्नईका तुषार देशपान्डेले १५ खेलमा २१ विकेट लिएका छन् । फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच आइतबार अहमदाबादमा प्रतिस्पर्धा हुनेछ ।