२२ साउन, काठमाण्डौ ।
संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागबण्डा मिलेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति भागमा परेको छ ।
उनले भने, ‘संसदीय समितिमा दलहरुबीच पावरसेरिङ मिलिसकेको छ । आज हाउस बस्यो भने समितिको सभापतिको विषय टुंगिन्छ ।’ केही दिनमै सबै समितिले नेतृत्व पाउने उनको भनाइ छ । उनका अनुशार ‘सभापति दिने दलहरुको आन्तरिक विषय हो । अब केही दिनमै सबै समितिले नेतृत्व पाउने छन् ।
प्रतिनिधिसभातर्फ १० वटा र संयुक्त २ वटा संसदीय समितिहरु छन् । एमालेलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त), सार्वजनिक लेखा समितिको नेतृत्व पक्का छ । यस्तै महिला तथा सामाजिक मामिला समितिको नेतृत्व पनि एमालेले पाउने छ ।
संसदीय सुनुवाई समिति (संयुक्त) को सभापति कांग्रेसले पाउने सहमति भइसकेको छ । यस्तै अर्थ, कृषि र राज्य व्यवस्था समिति कांग्रेसले पाउने सहमति छ । यसैगरी कानुन र विकास समिति माओवादी केन्द्रले, अन्तर्राष्ट्रिय सम्बन्ध समिति जसपाले, उद्योग समिति जनमतले र शिक्षा समितिको सभापति एकीकृत समाजवादीले पाउने छन् ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समितिको नेतृत्व नपाउने भएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच समिति सभापतिमा भागबण्डा हुँदा राष्ट्रिय राजनीति र संसदका प्रमुख शक्ति रास्वपा र राप्रपालाई भने बाइपास गरिएको छ ।