१३ भदौ ,काठमाण्डौ ।
भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर आजै जनैपूर्णिमा मनाएको हो ।
भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ, सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ । तिथि घटबढका कारण कुनै दुई तिथि एकैदिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।
सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मुल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो । आज जनैपूर्णिमा मनाइएको छ । बिहीवार (भोलि) गाईजात्रा मनाइने जनाइएको छ ।भक्तपुरमा आजै जनै लगाउने, रक्षाबन्धन बाँध्ने र क्वाँटी खाएर जनैपूर्णिमा मनाइँदै छ ।
यता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीवार मनाउनुपर्ने जनाएको छ । यस वर्ष तिथिको घटबढका कारण दुई दिन पर्ने पर्व एकै दिन परेको समितिले जनाएको हो । भोलि बिहीवार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण यसैदिन जनैपूर्णिमा र रक्षाबन्धन मनाउन समितिले आग्रह गरेको हो ।
विशेष गरी नेवार समुदायमा मनाइने गाईजात्रा पर्वका लागि केही पालिकाले आज जनैपूर्णिमा र भोलि बिहिवार गाईजात्रा अर्थात् सापारु पर्व मनाउने निर्णय गरेका छन् । तर यसपालि तिथि घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा बिहीवार एकैदिन परेको समितिले विज्ञप्ति निकालेर जनाएको छ ।