०४ असोज , काठमाण्डौ ।
आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)४४.३४ अंकले बढेको छ । कारोबार समयदेखि नै निरन्तर बढेको नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर कायम छ । १९ सय ८८ बाट सुरु भएको नेप्से परिसूचक ४४ अंकले बढेपछि २०२९ पुगेर रोकिएको छ ।
परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।परिसूचकमा उत्साहजनक वृद्धि आउँदा १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसमध्ये ४ कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले नै बढेको छ ।
आज सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको २० करोड रुपैयाँको सेयर कारोबार भएको हो ।यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर ७ लाख २९ कित्ता सेयर किनबेच भएको छ भने सन नेपाललाईफको सेयर ३२ हजार पटक किनबेच भएको नेप्सेले जनाएको छ ।
परिसूचक बढ्दा सबैजसो समूहमा उत्साहजनक वृद्धि देखिएको छ । जसमध्ये आज निर्जीवन बीमा समूहको सूचक १८६ अंकले बढ्दा जीवन बीमा समूहको सूचक १८० अंकले बढेको छ ।यस्तै, विकास बैंक समूहको सूचक १४२ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक १४७ अंकले बढेको छ ।
यसबोहक जलविद्युत समूहको सूचकमा १०९ अंक, लघुवित्त समूहको सूचक ८२ अंक र वित्त समूहको सूचक ७५ अंकले बढेको छ । यसबाहेक अन्य समूहमा समेत उत्साहजनक सुधार देखिएको छ ।यसअघि, यही साताको मंगलबार समेत नेप्सेमा १६.२४ अंकको सुधार आएको थियो ।
मंगलबार १ अर्ब १७ करोड रुपैयाँ बराबरको ४३ लाख ३६हजार कित्ता सेयर किनबेच भएको थियो । यो आज भएको कारोबार रकमभन्दा न्यून हो । हिजो बुधबार भने संविधान दिवसको सार्वजनिक विदा परेकाले नेप्सेको कारोबार भएन ।