२२ असोज,एजेन्सी ।
इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले बंकरबाट एक भिडियो सन्देशमार्फत् यस्तो आग्रह गरेका हुन् । भिडियोमा विद्यार्थी विपिन सुवेदीले भनेका छन्, “मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ । हामी बंकरमा पाँच जना छौँ । घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ । तर अहिले घरभन्दा माथि उठेर बनायौँ ।
हामी जहाँ बसेका छौँ यो बंकर हो । तीनदिन भयो यहाँ बसेको । दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेका छौँ । बंकरमा पनि मिसाइल खस्छ कि भन्ने अवस्था छ । १० जना गुमाइसक्यौँ । १० जनाले गरेको हारगुहार याद आइरहेको छ । बंकरमा त बचेका छौ भन्ने भएको होला । हामीलाई पनि क्रुरतापूर्वक मा¥यो भने …।”
यस्तै इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् । अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिने आग्रह गरेका हुन् । कृषि वन विज्ञान विश्वविद्यालयबाट इजरायल गएका भण्डारीले लेखेका छन्, ‘अबको हाम्रो आशा पनि तपाईं नै हो, भरोसा पनि तपाईं नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन ।
हामीलाई हाम्रो देश आउने वातावरण मिलाइदिनुहोस् , हामी देशमा नै रमाउने छौं ।’ सरकारले उद्धार गर्छ भन्ने विश्वासमा आफूहरूको सास रोकिएको उल्लेख गर्दै उनले तत्काल उद्धार गरिदिन आग्रह गरेका छन् । इजरायलमा नेपालका कृषि तथा वन विज्ञा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू छन् ।
इजरायलमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने केही घाइते भएका छन् । अरु विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् । यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ । गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।