किशोर विश्वकर्मा
विराटनगर, भदौ २४
विराटनगर महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदैगर्दा आईतबार दिउँसो रंगेहात पक्राउ परेका छन् । महानगरपालिका राजश्व शाखामा कार्यरत तिलकमणी पोखरेल विराटनगर–७ की सेवाग्राही मिना शाक्यसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।
उनलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीलगायतको टोलिले सेवाग्राही पोखरेल सँग घुस लिदै गर्दा पक्राउ गरेको हो । सेवाग्राही शाक्यले घरको कर तिर्न जाँदा राजश्व शाखाका खरिदार पोखरेलले घुस मागेको र सो कुरा वडा अध्यक्षलाई जानकारी गराएको बताइन् ।
उनले महानगरका कर्मचारी पोखरेलले राजश्व १ लाख रुपैयाँ बढी तिर्नुपर्ने बताएको र आफुसँग त्यत्रो रकम नभएको बताएपछी ८५ हजार रुपैयाँ मात्र बुझाएको बताईन । पोखरेलले ८५ हजार रुपैयाँ बुझाएपछी खरिदार पोखरेलले राजश्वको रसिद सोमबार आउने बताएको र केही समयपछी बोलाएर रसिद तयार भएको बताउदै ७३ हजार ५ सय रुपैयाँको मात्र रसिद थमाएपछी वडा अध्यक्ष तिवारीकै अग्रसरतामा कर्मचारी पोखरेल पक्राउ परेका हुन् ।
उता घुस सहित पक्राउ परेका कर्मचारी पोखरेलले आफुलाई फसाउन खोजेको आरोप लगाएका छन् । उनले जानी जानी सेवाग्राही शाक्यले राजश्व भन्दा बढी रकम दिएको र सोही बहानामा आफुलाई फसाउन खोजेको आरोप लगाए । यता विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले पनि रसिदमा उल्लेख भन्दा बढी रकम लिएको पाईएकाले आफुहरु पनि अनुसन्धानकै क्रममा रहेको बताएका छन् ।
उनले तत्कालका लागि उक्त विषय अख्तिरलाई जानकारी गराएको र अख्तियारको अनुसन्धान पछी महानगरले पनि आन्तरिक अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाउने बताए ।