Nepal Times
Nepal Times
3
Shares

एनसेलको नयाँ मालिक सतिशलाल आचार्य, को हुन् ?

एनसेलको नयाँ मालिक सतिशलाल आचार्य, को हुन् ?

१६ मंसिर,काठमाण्डौ ।
एनसेल कम्पनीको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडले किन्ने सम्झौता भएको छ । आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेसँगै सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले एनसेलको ८० प्रतिशत सेयर किनेको हो । उक्त कम्पनीले आजियाटासँग सम्झौता गरेको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअगाडि नै २० प्रतिशत सेयर थियो ।

अब एनसेलको शतप्रतिशत सेयर नै स्पेक्ट्रलाइटको रहने छ । ‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्पेक्ट्रलाइट खुसी छ,’ आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’

व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो । बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो । आजियाटाले सन् २०१६मा स्विडिस कम्पनी टेलिया सोनेरासँग सेयर किनेको थियो । त्यतिबेला एनसेलको भ्यालुएसन एक खर्ब ४० अर्ब रूपैयाँभन्दा बढी थियो ।

एनसेलको नयाँ मालिक बनेका आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् । उनले शतप्रतिशत सेयर किनेपछि एनसेलका सीईओ जाबोर क्युमोभले भनेका छन्, “नयाँ सेयरधनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रुपमा कायम राख्नु हाम्रो उद्देश्य हुनेछ ।”

आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।

दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो । तर, नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ । आजियाटाले पहिले नै बिक्रीका लागि डिल फाइनल गरी एनसेलबाट बाहिरिने घोषणा गरेको हुनसक्ने आकलन गरिएको थियो।

सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो । त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा ।

सन् २०१६ को अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो । सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो । एनसेलमा यसअघि ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.