ढाका, भदौ २५
बङ्गलादेशको राजधानी ढाकामा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बुधबार माल्दिभ्ससँग खेल्ने भएको छ ।
समूह ‘ए’बाट विजेता बन्दै सेमिफाइलन प्रवेश गरेको नेपालले गोलाप्रथाद्वारा समूह ‘बी’को उपविजेता बनेको माल्दिभ्ससँग खेल्ने भएको हो । त्यसैगरी भारत समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतले समूह ‘ए’को उपविजेता पाकिस्तानसँग खेल्नेछ ।
समूह ‘बी’ मा रहेका माल्दिभ्स र श्रीलङ्काले एक खेलमा पराजय र एकमा बराबरी खेलेपछि गोलाप्रथाद्वारा समूह उपविजेता छानिएको थियो । नेपालले फाइनल प्रवेशका लागि माल्दिभ्ससँग आगामी बुधबार ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा प्रतिपर्धा गर्नेछ । त्यस्तै भारत र पाकिस्तानबीचका दोस्रो सेमिफाइनल सोही दिन साँझ ७.४५ बजे हुनेछ ।
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले भुटानलाई ४–० र बङ्गलादेशलाई २–० ले पराजित गर्दै सेमिफाइलन प्रवेश गरेको हो । नेपालले दुई गोल खाँदा ७ गोल गर्न सफल भइसकेको छ । माल्दिभ्सले श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो भने भारतसँग २–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा दुई खेल खेलेको माल्दिभ्सले गोल गर्न सकेको छैन भने दुई गोल खाएको छ ।
सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सात पटक तथा माल्दिभ्सले एक पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् । नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनल भन्दा माथि पुग्न सकेका छैनन । पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेको हो ।
माल्दिभ्सले घरेलु भूमी र श्रीलङ्कामा संयुक्तरुपमा आयोजना गरिएको सन् २००८ को उपाधि जितेको थियो ।