Nepal Times
Nepal Times
3
Shares

नयाँ सांसदहरुले फर्काउलान् राष्ट्रिय सभाको गुमेको साख ?

नयाँ सांसदहरुले फर्काउलान् राष्ट्रिय सभाको गुमेको साख ?

२१ फागुन ,विराटनगर ।
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले आज दिउँसो शपथ लिएका छन् । गत माघ ११ गते निर्वाचित १९ जना सदस्यहरूलाई संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ दिलाइएको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा (२) अनुसार नेपालमा बोलिने आफ्नो मातृभाषामा सदस्यहरूले शपथ लिएका हुन् । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले उनीहरुलाई शपथग्रहण गराएकी हुन् ।

यसअघि आईतवारदेखि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो । अब एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी नै छ ।

यससंगै संविधान जारी भएपछि संघीय संसद्को पहिलो बैठक बसेको आज ठीक ६ वर्ष पूरा भएको छ । २०७४ फागुन २१ मा बैठक बसेको आधारमा राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल सकिएको छ ।

अर्थात्, राष्ट्रिय सभामा पहिलो पटक शपथ लिएका मध्येका २० सांसदको पदावधि आइतबार सकिएको हो । यसबीच आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक भने स्थगित हुन पुग्यो ।

एकाएक बदलिएको राजनीतिक समीकरणका कारण आजका लागि बोलाइएको दुवै सदनको बैठक भएको हो । अर्को बैठक २४ फागुनको दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।

यता नयाँ सत्ता समीकरण बनेसंगै अब राष्ट्रियसभाको अध्यक्ष फेरि पनि नेकपा एमालेले पाउँने देखिएको छ । गणेशप्रसाद तिमिल्सिना विदा भएसंगै फेरि पनि अध्यक्षको कुर्सी एमालेको भागमा पर्ने भएको हो ।

यसअघि भने काँग्रेसबाट कृष्णप्रसाद सिटौलाको नाम चर्चामा थियो । यद्यपी पछिल्लो पटक काँग्रेस–माओवादीबीचको खटपट र पछिल्लो चुनावबाट हाल माओवादी राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्दा उसले पनि राष्ट्रिय सभामा अध्यक्षकै दाबी गरिरहेको थियो ।

तर पछिल्लो घटनाक्रम विकसित हुँदै जाँदा प्रधानमन्त्रीमा प्रचण्डलाई एमालेले साथ दिने र राष्ट्रिय सभाको अध्यक्ष एमालेले लिने सहमति भएको बताइएको छ ।

यसैबीच आज शपथ लिएसंगै राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।

यसअघि, भैरवसुन्दर श्रेष्ठ राष्ट्रिय सभामा प्रमुख सचेतक थिए । नयाँ गठबन्धन बनाएर आफ्नो सरकारको आयु बढाएको माओवादी केन्द्रको अहिले राष्ट्रियसभामा १७ जना सदस्य छन् । त्यस्तै, कांग्रेसका १६ सदस्य छन् ।

अब राष्ट्रियसभाका अध्यक्ष पदको निर्वाचन भने आउँदो फागुन २९ गते गर्ने तयारी गरिएको छ । शपथपछि राष्ट्रियसभाका सदस्यहरूले संविधानअनुसार कानुन र नीति बनाउन ध्यान दिने बताएका छन् । तर अभ्यासमा हेर्दा यी त सब भन्ने कुरामात्र बनेका छन् ।

खासमा राष्ट्रियसभा, स्थायी अर्थात् अविछिन्न प्रकृतिको सदन हो । दुई–दुई वर्षमा एक तिहाई सदस्य बदलिन्छन् । पहिलो पटक गोला प्रथाबाट २, ४ र ६ वर्षे भाग्य निर्धारण हुँदाबाहेक राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ, प्रतिनिधिसभा सदस्यभन्दा एक वर्ष बढी हुन्छ ।

जसले तल्लो सदन प्रतिनिधिसभाबाट भएका त्रुटि सच्याउने र तल्लो सदन रिक्त हुने अवस्थामा सरकारलाई जवाफदेही बनाउने काम गर्नु पर्ने हो । तर, दलहरूको सत्ता स्वार्थका कारण राष्ट्रिय सभा संविधानको मर्मअनुसार चल्न सकेको छैन ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको चरित्र फरक छ ।राजनीतिक मैदानमा भिडेका ताता पात्रहरूले भरिएको हुन्छ,प्रतिनिधिसभा । उनीहरूको सोच बढी मात्रामा दलीय चरित्रमा आधारित हुन्छ । मतदाता खुसी पार्नुपर्ने चिन्ता हुन्छ ।

प्रतिनिधिसभाले सरकार निर्माण गर्नुपर्ने हुँदा राजनीति बढी हुने नै भयो । राजनीतिकै कारणले प्रतिनिधिसभामा कहिले काहीँ रोष्टम घेराउ हुनु अनौठो मानिँदैन । किनभने तिनले जनतालाई आकर्षित गर्न कहिले होस् गुमाउँदै जोश प्रदर्शन गर्न सक्छन् ।

प्रतिनिधिसभामा राजनीतिक द्वन्द्व वा झगडा पर्छ । जुन दृश्य राष्ट्रियसभामा मञ्चन हुनु हुँदैन । हाम्रो संसदीय प्रचलनमा प्रतिनिधिसभामा नारावाजी चल्दा राष्ट्रियसभामा पनि त्यही रुप देखापर्छ ।

अर्थात प्रतिनिधिसभामा पानी प¥यो भने राष्ट्रियसभाले छाता ओढ्छ । अर्थात्, प्रतिनिधिसभाकै छाया बनेको छ राष्ट्रियसभा पनि । २०७८ मा एमाले सत्ताबाहिर पुगेपछि अहोरात्र प्रतिनिधिसभामा अवरोध ग¥यो, त्यही दृश्य राष्ट्रियसभामा पनि मञ्चित हुन पुग्यो ।

यस्तै सुरुदेखि नै राष्ट्रिय सभाको निर्वाचन र मनोनयन विवादरहित छैन । न त राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको मनोनयन नै प्रश्नबाट मुक्त हुन सकेको छ । संसदीय प्रणालीमा राष्ट्रिय सभा अर्थात् माथिल्लो सदनलाई विज्ञहरूको भेलाका रूपमा पनि मानिन्छ ।

तर, हाम्रो देशको राजनीतिक संस्कारले यो गर्व गर्ने अवस्था बन्न दिएको छैन । यसमा राखिएका क्लस्टरमा सबै क्षेत्र, वर्ग, लिंग समेटिने व्यवस्था भए पनि त्यहाँ कति योग्य व्यक्ति ल्याइए भन्नेले अर्थ राख्छ ।

राष्ट्रिय जीवनमा योगदान पु¥याएका, अनुभवी, लब्ध प्रतिष्ठित व्यक्ति र संसदीय विधिपद्धति बुझेकाहरू यहाँ आउनुपर्ने हो । तर राजनीतिक दलले उम्मेदवारी दिँदा स्वार्थ र गुटमात्रै होइन गठबन्धनको भागबन्डा मिलाउँदा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको तत्कालको निर्वाचनमा पराजित उम्मेदवारलाई समेत संघीय संसद् प्रवेश गराउने भ¥याङ बनाउँदै आएका छन ।

उम्मेदवार छान्ने समयमै नेतृत्वसँग निकट वा नेतृत्वलाई व्यक्तिगत प्रभावमा पार्ने व्यक्तिलाई मात्रै टिकट दिने प्रवृत्ति हट्न सकेको छैन । पटकपटक अवसर पाएका र समानुपातिक सूचीबाट बाहिरिएका कार्यकर्ता व्यवस्थापन पर्ने थलोका रूपमा पनि राष्ट्रिय सभा बदनाम हुँदै आएको यथार्थ हो । जसले सभाकै गरिमा घटाएको छ ।

त्यसकारण अब आज शपथ लिएका सांसदहरुले राष्ट्रिय सभाको खस्किएको गरिमा उकास्न ध्यान दिउँन । उनीहरुका लागि यो गुमेको गरिमा फर्काउने अवसर पनि हो ।

सभालाई सार्थक बहसको थलो बनाउनेदेखि सरकारलाई जवाफदेही बनाउन उनीहरुबाट प्रभावकारी भूमिका जनताले अपेक्षा गरेका छन् । यो अपेक्षा राष्ट्रिय सभाका नयाँ सांसदहरुले पुरा गर्लान् ? तपाइँलाई के लाग्छ, आफ्ना टिप्पणीहरु अवस्य अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.