१४ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिमा जारी पेरिस पाराओलम्पिक–२०२४ अन्तर्गत नेपालकी पलेशा गोबर्धन क्वार्टरफाइनलमा पराजित भएकी छन् ।
शुक्रबार भएको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनिको पहिलो खेल जितेर क्वार्टरफाइनल पुगेकी पलेशा अन्तिम आठको खेलमा भने पराजित भएकी हुन् ।
राउन्ड अफ १६ को खेलमा पलेशाले भेनेन्जुएलाकी भलेरियाविरुद्ध शुक्रबार ३१-० को जित निकालेकी थिइन् । तर, अन्तिम आठमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग उनले १०-८ को पराजय बेहोरिन् ।
क्वार्टरफाइनल खेल जितेकी भए पलेशाले कमसेकम कास्य पदक जित्ने पक्का थियो । तर, उनको पराजयले दोस्रो निराशा सिर्जना गरेको छ ।
यसअघि तेक्वान्दोमै नेपालका भरतसिंह महरा पहिलो चरणमै पराजित भएका थिए । तेक्वान्दोको के– ४४ क्याटगोरीको पुरुष ५८ केजीमुनिको खेलमा पाँचौं विश्व वरीयताका जापानका मित्सुया तानाकासँग भरत १९–३ ले पराजित भएका थिए ।
छनोट चरण पार गर्दै पलेशाले पेरिस पाराओलम्पिकमा प्रतिस्पर्धाका लागि छानिएकी उनीबाट पदकको अपेक्षा गरिएको थियो । तर, नेपालले जारी प्रतियोगितामा पनि रित्तो हात फर्किनुपर्ने देखिएको छ । हालसम्म नेपालले कुनै पनि ओलम्पिकमा पदक जित्न सकेको छैन ।
उनले गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । उनी छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । पलेशा १९ औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।
यसअघि चीनको हान्झाउमा भएको चौथो प्याराएसियाली खेलकुदमा तेक्वान्दोको के ४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले कांस्य पदक प्राप्त गरेकी थिइन् ।
टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् । उनले टोकियो पारा ओलम्पिकमा भने ‘वाइल्ड कार्ड’ मार्फतसहभागिता जनाएकी थिइन् ।
पलेशाले त्यतिबेला अमेरिकाकी ब्रियाना सालिनारालाई १० – ० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३ – १८ स्कोरले पराजित गरेकी थिइन् ।
टोकियो ओलम्पिकमा कांस्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९-१२ स्कोरले पराजित भएकी थिइन् ।
पलेशा करिब एक महिना बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएकी हुन् ।
नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा १ महिनाको तयारी प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो । पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडी सहभागी भएका छन् ।
अब, खेल्न बाँकी भने पौडीका भीमबहादुर कुमाल हुन् । उनले पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् । तेक्वान्दोका भरत र पारा पौडीका भीम भने वाइल्ड कार्डमार्फत पारालिम्पिकमा खेल्ने अवसर पाएका थिए ।