एजेन्सी,असोज ९
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।
मोड्रीचले रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डा र लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् । यसअघि फिफाले विभिन्न चरण गर्दै शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको ।
मोड्रीचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । मोड्रीच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि हुन् ।
रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा त्यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोनाल्डोले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
सलाहले लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । उनले प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । उनले पनि राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्याए तर विश्वकपमा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् ।