२२ माघ काठमाण्डौ।
महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् ।
नेपाल अहिलेसम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्ड भने सिरिजमा खेलेका सबै ३ खेलमा अपराजित छ ।
पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । सिरिजमा नेपाल र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदैछन् । पहिलो भेटमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो ।
नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । पाहुना टोली थाइल्यान्डले अपराजित यात्रा कायम राख्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरिरहँदा घरेलु टोली नेपाल भने अझै जितविहीन छ ।
घरमै उपाधि राख्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ एकरुप प्रदर्शन गर्न सकेको छैन । त्यसैले पहिलो खेलमा २० रनले नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले थाइल्यान्डलाई अर्को खेलमा पनि चार विकेटको जित सुम्पियो ।
नेदरल्यान्ड्ससँगको दोस्रो भेट पनि नेपालका लागि दुखदायी नै बन्यो । उक्त खेलमा सीता रानामगरले पाँच विकेट लिए पनि नेपाल १५ रनले पराजित भयो । यो खेलमा भने नेपाली टोलीको ब्याटिङ कमजोर देखियो ।
अर्कोतर्फ भने थाइल्यान्डले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थाइल्यान्डले नेपाललाई चार विकेटले स्तब्ध पारेको थियो ।
लो स्कोरिङ अर्को खेलमा पनि थाइल्यान्डले ८६ को स्कोर जोगाउँदै १७ रनको सानदार जित हासिल गर्न सफल रह्यो । तीन खेलबाट ६ अंकसहित थाइल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्डले पनि चार अंक पु¥याएको छ ।
नेदरल्यान्डले भने एक खेल बढी खेलिसकेको छ । तर, तीन खेल खेलेको नेपाल भने अझै अंकविहीन छ । त्यसैले उपाधि घरैमा राख्न नेपाललाई थाइल्यान्डविरुद्ध जित्नै पर्ने दबाब छ । यदि नेपाल यो खेलमा पराजित भए उपाधि यात्रा समाप्त हुनेछ ।
तर, जितले भने गणितिय सम्भावना कायम राख्नेछ । त्यसपछि नेपालले बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डलाई चुनौती पेस गर्नेछ । नेपाल र थाइल्याण्डबिच को ४ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो ।