१५ साउन ,काठमाण्डौ ।
१० वर्षअघि प्रहरीको इन्काउन्टरमा मारिएका कुमार घैंटेको समूहका सदस्य समेत रहेका गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ परेका छन् । काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
झैझगडा गरेको आरोपमा गएराति उनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले जानकारी दिए । उनी यसअघि पनि कुटपिट आरोपमा पटक पटक पक्राउ परेका थिए ।
उनलाई हाल प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान भइरहेको छ । गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो ।
त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन हतकडीसहित बजार घुमाएको प्रहरी अधिकारीहरुले बताएका थिए । पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए । प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् ।
घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए । २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्वर र एउटा गोलीसहित पक्राउ परेका थिए ।
त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो । उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।
२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।
पछिल्लो समय अधिकांश गुण्डा नाइकेहरू आपराधिक गतिविधि छोडेर राजनीतिमा लागेका छन् । तर, सानुभाइले भने आपराधिक गतिविधि विस्तार गर्दै आएको खुलेको छ । उनी प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी अधिकारीसँगसमेत हिमचिम गर्दै आएका थिए ।