२९ साउन, काठमाण्डौ ।
लामो प्रयासपछि भोली शुक्रबार, १५ अगस्टका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतिक्षित शिखर वार्ता हुँदैछ । जुन वार्तामा युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
उनीहरुबीच अलास्कामा भेट हुँदैछ, जुन क्षेत्र १५० वर्षअघि अमेरिकाले रुससंगबाट खरिद गरेको थियो । ट्रम्पले एक साताअघि यो बैठकबारे घोषणा गरेका थिए ।
त्यही दिन उनले रुसलाई चेतावनी दिँदै यदि उसले युक्रेनमा युद्धविराम गर्न सहमत नभए थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए ।
ट्रम्पको आग्रहमा रुस र युक्रेनबिच भएको तीन चरणको वार्ताले दुवै पक्षलाई अहिलेसम्म शान्तिको नजिक ल्याउन सकेको छैन । यस्तोमा अलास्काको एन्कोरेजमा शुक्रबार फेरि वार्ता हुन लागेको छ ।
अमेरिकाले सन् १८६७ मा रुसबाट अलास्का खरिद गरेको थियो, जसले यस भेटलाई ऐतिहासिक महत्त्व दिएको छ । सन् १९५९ मा यो अमेरिकाको राज्य बन्यो ।
रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले दुई देश छिमेकी भएको र उनीहरूलाई ‘बेरिङ स्ट्रेट’ ले मात्र छुट्याएको बताए । उशाकोभले भने, ‘हाम्रो लागि बेरिङ स्ट्रेट पार गरेर उडान भर्नु र दुई देशका नेताहरूको यति महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको शिखर सम्मेलन अलास्कामा हुनु बिल्कुल सही छ।’
अलास्का अन्तिम पटक मार्च २०२१ मा एक ठुलो अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्र बनेको थियो । त्यतिबेला जो बाइडेनको नयाँ कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीले एन्कोरेजमा आफ्ना चिनियाँ समकक्षीहरूसँग भेटेका थिए ।
त्यस बैठकमा चीनले अमेरिकामाथि ‘अहङ्कार र पाखण्ड’ को आरोप लगाएपछि वातावरण तनावपूर्ण बनेको थियो । ह्वाइट हाउसले मंगलबार बैठक अलास्काको सबैभन्दा ठुलो सहर एन्कोरेजमा हुने पुष्टि गरेको छ ।
द्विपक्षीय बैठकको घोषणा गर्दा ट्रम्पले यो ठाउँ ‘धेरै कारणले धेरै लोकप्रिय’ रहेको बताएका थिए, तर उनले यो बैठक राज्यको यस सबैभन्दा ठुलो सहरमा हुनेछ भन्ने कुरा भने बताएका थिएनन् ।
दुवै नेताको मेजबानी अलास्काको सबैभन्दा ठुलो सैन्य अखडा, जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा हुनेछ । ६४ हजार एकडमा फैलिएको यो अखडा आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य तयारीहरूको एक महत्त्वपूर्ण केन्द्र हो ।
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न धेरै प्रयास गरिरहेका छन्, तर अहिलेसम्म उनलाई धेरै सफलता मिलेको छैन । राष्ट्रपति पदका उम्मेदवारको रूपमा उनले पद सम्हालेको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका थिए ।
उनले बारम्बार यो पनि भनेका थिए कि यदि सन् २०२२ मा रुसी आक्रमणको समयमा उनी राष्ट्रपति भएको भए यो युद्ध ‘कहिले पनि हुने थिएन’ । गत महिना ट्रम्पले आफू पुटिनबाट ‘निराश’ भएको बताएका थिए ।
असन्तुष्टि बढेपछि ट्रम्पले पुटिनका लागि अगस्ट ८ को समयसीमा तोके, जसमा तत्काल युद्धविराममा सहमति नदिए थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो ।
समयसीमा पूरा हुनासाथ ट्रम्पले प्रतिबन्धको सट्टा आफू र पुटिन अगस्ट १५ मा आमनेसामने भेटवार्ता गर्ने घोषणा गरे । ट्रम्पका अनुसार, यो बैठक अमेरिकी विशेष दूत स्टीव विटकफको मस्कोमा पुटिनसँग भएको ‘अत्यन्त सार्थक’ वार्ता पछि तय भएको हो ।
बैठकअघि ह्वाइट हाउसले यस द्विपक्षीय भेटघाटबाट युद्धविराममा सहमति बन्न सक्छ भन्ने अनुमान कम गर्ने प्रयास गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले भनिन्, ‘यो राष्ट्रपतिलाई सुन्ने मौका हो।’
उनले अलास्का भ्रमणपछि ट्रम्प रुस पनि जान सक्ने बताइन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले यस बैठकलाई ‘वातावरण बुझ्ने भेटघाट’ मान्ने र यसको उद्देश्य पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने रहेको बताए ।
यो बैठकमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको सहभागी हुने अपेक्षा गरिएको छैन । सोमबार ट्रम्पले भने, ‘उनी आउन सक्छन्, तर उनी पहिले नै धेरै बैठकहरूमा सामेल भइसकेका छन्।’ यद्यपि, ट्रम्पले बैठक पछि उनले सबैभन्दा पहिले जेलेन्स्कीलाई फोन गर्ने पनि बताए ।
पुटिनले जेलेन्स्कीलाई सामेल नगर्न माग गरेका थिए, तर ह्वाइट हाउसले पहिले नै ट्रम्प तीनै नेताहरूको संयुक्त बैठकका लागि तयार रहेको बताइसकेको थियो । जेलेन्स्कीले युक्रेनको राय बिना हुने कुनै पनि सम्झौता ‘बेकारको निर्णय’ हुने बताएका थिए ।
यद्यपि, रुस र युक्रेन दुवैले युद्ध अन्त्य गर्न चाहेको बताएका छन्, तर उनीहरूका सर्तहरू एक–अर्कालाई स्वीकार्य छैनन् । सोमबार ट्रम्पले उनी ‘युक्रेनका लागि (रुसको कब्जामा रहेको) केही इलाका फिर्ता लिने प्रयास गर्ने’ बताएका थिए ।
’तर हुनसक्छ ‘केही अदला–बदली वा जमिनमा परिवर्तन’ गर्नुपर्नेछ,’ उनको भनाई थियो । युक्रेनले रुसको कब्जामा रहेको कुनै पनि इलाकालाई मान्यता नदिने कुरा स्पष्ट पारिसकेको छ, जसमा क्रिमिया पनि सामेल छ ।
यो हप्ता जेलेन्स्कीले जमीनको ‘अदला–बदली’ को विचारलाई खारेज गर्दै भने, ‘हामी रुसलाई त्यसको कामको इनाम दिने छैनौँ।’ यसैबिच पुटिन आफ्ना क्षेत्रीय दाबी, युक्रेनको तटस्थता र त्यसको सेनाको आकारलाई लिएर आफ्ना मागहरूमा अडिग छन् ।
रुसले पश्चिमी सैन्य गठबन्धन नेटोले छिमेकी देश अर्थात् युक्रेनलाई आफ्नो सेनालाई रुसको सीमाको नजिक ल्याउन प्रयोग गरिरहेको आशंका व्यक्त गरेको थियो ।
सीबीएस न्यूजका अनुसार, ट्रम्प प्रशासनले युरोपेली नेताहरूलाई एउटा यस्तो युद्धविराम सम्झौतामा राजी गराउने प्रयास गरिरहेको छ, जसमा युक्रेनको ठुलो हिस्साको नियन्त्रण रुसलाई सुम्पिनेछ ।
वार्तासँग सम्बन्धित स्रोतहरूका अनुसार, यस सम्झौता अन्तर्गत रुसले क्रिमिया प्रायद्वीपमा आफ्नो नियन्त्रण कायम राख्न सक्नेछ र पूर्वी युक्रेनको दोनबास क्षेत्र (दोनेत्स्क र लुहांस्क) लाई आफ्नो अधीनमा लिन सक्नेछ ।
रुसले सन् २०१४ मा क्रिमियामा कब्जा गरेको थियो र हाल दोनबास क्षेत्रको धेरैजसो भागमा त्यसको नियन्त्रण छ । यस सम्झौता अन्तर्गत रुसलाई खेरसोन र जापोरिजिया क्षेत्रहरूबाट हट्नुपर्नेछ, जहाँ वर्तमानमा त्यसको आंशिक रूपमा सैन्य नियन्त्रण छ ।
फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले कुनै पनि भविष्यको सम्झौता ‘कसैलाई पनि धेरै खुसी नबनाउने’ हुने बताएका छन् ।
उनले भने, ‘तपाईँले यहाँ शान्ति बनाउनुपर्नेछ, तपाईं केवल औँला उठाउन सक्नुहुन्न। शान्तिको बाटोमा एक निर्णायक नेता बस्छन् र मानिसहरूलाई एकसाथ आउन बाध्य पार्छन्।’
यता युक्रेनको प्रत्यक्ष सहभागीता नहुने भएपछि युरोपेली नेताहरूले संयुक्त रूपमा ट्रम्पसँग युद्धविरामका सन्दर्भमा युक्रेन र युरोपको सिद्धान्त र सर्तहरू प्रस्तुत गरेका छन् ।
बुधबार ट्रम्पसँग भर्चुअल संवादका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरुले ट्रम्पलाई पुटिनसँग युक्रेनमा युद्धविरामबारे वार्ताका लागि आफ्ना पाँच वटा सिद्धान्त र सर्त राखेका थिए ।
अमेरेकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार ती पाँचै सिद्धान्त वा सर्तमा ट्रम्प राजी भएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्की र जर्मन चान्स्लर फ्रेडरिक मर्जले पनि ती सर्तहरुमा ट्रम्प सहमत भएको पुष्टि गरेका छन् ।
भर्चुअल संवादमा प्रस्तुत भएका ती सिद्धान्तहरु जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् । पहिलो सर्त युद्धविराम सहमतिमा युक्रेनको संलग्नताबारे छ ।
जेलेन्स्कीले ट्रम्पले पुटिनसँग वार्ता गर्दा युक्रेनसँग सम्बन्धित सबै कुरा केवल युक्रेनसँगै छलफल हुनुपर्ने भनेका छन् । यसको अर्थ जमिनको अदलाबदली लगायतका सम्झौताका लागि उनले त्रिपक्षीय वार्ता हुनुपर्ने भनेका छन् ।
ट्रम्पले सुरूवातमै जेलेन्स्कीलाई सहभागी गराउने सम्भावना नभए पनि पुटिनसँगको आफ्नो छलफल सकारात्मक भए तत्कालै त्रिपक्षीय वार्ता हुने बताएका छन् ।
यद्यपि त्रिपक्षीय वार्ता अलास्कामा सोही दिन हुने हो की अर्को दिन तय गरिन्छ भन्न विषय चाहिँ ट्रम्पले खुलाएका छैनन् । ट्रम्प आफै भने सुरूवातमै जेलेन्स्कीलाई पनि वार्तामा सहभागी गराएर युद्धविरामसँगै अन्य सम्झौताहरूबारे पनि छलफल गर्ने पक्षमा थिए ।
तर पुटिन सुरूमै जेलेन्स्कीलाई बैठकमा सहभागी गराउने पक्षमा नदेखिएपछि अलास्कामा पहिलो भेटमा ट्रम्प र पुटिनले मात्रै वार्ता गर्ने तय भएको हो ।
ट्रम्पले पुटिन युद्धविरामका लागि तयार नभए वा अलास्काको वार्ता सकारात्मक नभए रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । ती परिणाम के हुन् भनेर तत्काल खुलाएका भने छैनन् ।
पत्रकाहरूरले रूसमाथिको प्रतिबन्ध थप कडाइ गर्ने र भन्सार दर बढाउने सम्भावनाबारे ट्रम्पलाई प्रश्न समेत गरेका थिए । जबाफमा ट्रम्पले त्यसबारेमा अहिल्यै सार्वजनिक नगर्ने भनेका थिए ।
दोस्रो सर्त, युक्रेनको सुरक्षा ज्ञारेन्टीबारे छ । अलास्काको वार्तामा जेलेन्स्की सहभागी नहुने भनेपछि ट्रम्पले रूसलाई फाइदा हुनेगरी सहमति गर्न सक्छन् भन्नेमा युरोपेली नेताहरू सशंकित थिए ।
युद्धविराम सहमति भए पनि निकट भविष्यमा रूसले पुनः युक्रेनमाथि आक्रमण नगर्ने सुनिश्चित गर्नपर्ने उनीहरूको माग थियो। जेलेन्स्कीले पनि युक्रेनको सुरक्षा ज्ञारेन्टी हुनुपर्ने अडान लिइरहेका छन् ।
त्यसमा पनि ट्रम्प राजी भएको जर्मन चान्स्लर मर्ज र जेलेन्स्कीले बताएका छन् । ट्रम्पले युक्रेनको सुरक्षा ज्ञारेन्टी अमेरिकाले गर्ने बताए । ’अमेरिका युक्रेनलाई सुरक्षा ज्ञारेन्टी दिन्छ तर नेटोको ढाँचामा होइन,’ उनले भनेका छन् ।
युरोपेली नेताहरूले ट्रम्पसँग राखेको तेस्रो सर्त युक्रेनको युरोपेली संघ र नेटो सदस्यबारे छ । पुटिनले युक्रेनलाई नेटोमा आबद्ध हुन नपाउने सर्तलाई शान्ति वार्ताको प्रमुख अडानका रूपमा प्रस्तुत गर्दै आइरहेको छ ।
युरोपेली नेताहरूले ट्रम्पलाई पुटिनसँग वार्ता हुँदा नेटोमा संलग्नताबारे रूसले निर्णय गर्न नमिल्ने सर्त राखेका छन् । चौथो सर्त युद्धविराम नभए रूसमाथि कडा प्रतिबन्ध लगाउनेबारे छ ।
युक्रेनमा रूसी हमलापछि अमेरिका र युरोपेली मुलुकहरूले रूसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । राष्ट्रपतिको जिम्मेवारी सम्हालेको सुरूवाती चरणमा ट्रम्प पुटिनप्रति लचिलो पनि बनेका थिए ।
उनले पुटिनलाई फकाएर युक्रेनमा युद्धविराम गर्ने रणनीति लिए पनि सफल हुन सकेन । आफ्ना मध्यपूर्व हेर्ने दूतलाई पटकपटक मस्को पठाएर छलफल गरेका ट्रम्पले पुटिनसँगै बारम्बार टेलिफोन वार्ता पनि गरेका थिए ।
तर लगातारको प्रयत्नपछि पनि पुटिन युद्धविरामका लागि तयार नभएपछि पछिल्लो समय ट्रम्प उनीसँग रिसाएका छन् । उनले युद्धविराम नगरे रूसमाथिको प्रतिबन्ध कडा पारिने, भन्सार दर एक सय प्रतिशतभन्दा बढी लगाउने र रूसबाट तेल किन्ने देशहरूमाथि पनि भन्सार दर बढाउने धम्की दिएका छन् ।
युरोपेली मुलुकहरूले पनि बुधबारको भर्चुअल बैठकमा अलास्काको वार्ता पछि पनि युद्धविरामका लागि पुटिन तयार नभए प्रतिबन्ध कडा बनाउनुपर्ने सर्त राखेका छन् ।
पछि ट्रम्प आफैले त्यसो नभए रूसले गम्भीर परिस्थितिको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन् । पाँचौं सर्तमा युरोपेली नेताहरूले ट्रम्प र पुटिनबीचको वार्ता तत्काल युद्धविराम गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनीहरूले युद्धविराम नहुँदासम्म भूमि आदानप्रदान लगायत अन्य सम्झौतामा छलफल गर्न नहुने भनेका छन् । यी पाँचै विषया ट्रम्प सहमत भएको जर्मन चान्स्लर मर्ज र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।