२८ भदौ ,काठमाण्डौ ।
जेन–जी विद्रोहको बलमा पहिलो महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई विभिन्न राष्ट्रहरूले सावधानीपूर्वक स्वागत गरेका छन्।
भारतले विज्ञप्ति जारी गर्दै कार्की नेतृत्वको सरकारले शान्ति र स्थिरतालाई टेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।
साथै, नेपालसँग लोकतन्त्र र विकासका साझेदारका रूपमा नजिकको सहकार्य निरन्तर जारी रहने उल्लेख गरेको छ।
संयुक्त राष्ट्रसंघले पनि कार्कीलाई बधाई दिँदै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल र जेन–जी युवाहरूको भूमिकाको प्रशंसा गरेको छ।
राष्ट्रसंघले नेपाली जनताको शान्ति, न्याय, पारदर्शिता र प्रगतिप्रतिको आकांक्षामा हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ।
बेलायतले प्रत्यक्ष बधाई नदिएर पनि जवाफदेहिता र समावेशी शासनप्रतिको नेपाली आकांक्षालाई समर्थन गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
त्यस्तै, जापानले अन्तरिम सरकारलाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भनेको छ।
जापानले नेपालको विकास र समृद्धिमा निरन्तर सहयोग गर्ने वाचा गरेको छ।
यसरी अन्तर्राष्ट्रिय समुदायले नेपालमा भएको राजनीतिक रूपान्तरणलाई सावधानीपूर्वक स्वागत गर्दै शान्ति, लोकतन्त्र र स्थायित्वप्रतिको समर्थन प्रकट गरेका छन्।